
काठमाडौँ। ६० केजी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार जना जिल्ला र उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
सर्वोच्च पुग्नेमा भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल, मनोजराज श्रेष्ठ तथा चिनियाँ नागरिक गेङ्गा शाशी (कुङ्गा टासी शेर्पा) र मिङ सिङ टेरेन्स सी छन्। जिल्ला अदालतले उनीहरूलाई थुनामा पठाएपछि उनीहरू उच्च अदालत पाटन पुगेका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनीहरू सर्वोच्च पुगेका हुन्। सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा उनीहरूको निवेदनमाथि सुनुवाइ भइरहेको छ।
चीनबाट स्कुटरको ‘ब्रेक शु’ मार्फत भएको सुन तस्करीबारे सीआईबीले गरेको दोस्रो चरणको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका थिए। पक्राउ परेका चिनियाँ नागरिक गेङ्गाले काठमाडौँ जिल्ला प्रशासनबाटै कुङ्गा टासी शेर्पाको नाममा नेपाली नागरिकता र सवारी चालक अनुमतिपत्र लिएको पाइएको छ।
यस्तै, सीआईबीले बौद्धबाट ६ केजी सुनसहित पक्राउ गरेका चिनियाँ नागरिक शेरब ग्याल्मोसँग पनि नेपाली नागरिकता फेला परेको थियो। उनले मुस्ताङको लोमान्थाङबाट सोनाम गुरुङको नाममा नागरिकता लिएको अनुसन्धानले देखाएको छ।

























