
गोरखा। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएको केही समयमै उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरे।
विभिन्न राजनीतिक दल र शुभेच्छुकहरूले चुनाव नलड्न सुझाव दिएकाले आफूले निर्णय सच्याएको भट्टराईले बताए। एउटा दलको सांसद मात्र बन्दा भूमिका खुम्चिने र अहिलेको अवस्थामा साझा अभिभावक बन्नुपर्ने सुझाव आएकाले यस्तो निर्णय लिएको उनले स्पष्ट पारे। अब संसद् बाहिरै बसेर दलहरूलाई मार्गनिर्देशन गर्ने उनको भनाइ छ।
सुरुमा चुनाव नलड्ने बताएका भट्टराईले देशको अन्योलपूर्ण अवस्था र संविधानका त्रुटि सच्याउन संसद्मा आफ्नो उपस्थिति आवश्यक ठानेर मनोनयन दर्ता गरेका थिए। शक्ति राष्ट्रहरूको सामरिक चासो व्यवस्थापन र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि संसद् जान खोजे पनि अन्त्यमा बाहिरै बसेर भूमिका खेल्नु उपयुक्त हुने निष्कर्षमा पुगेको उनले बताए।
७० वर्ष पुगिसकेकाले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र आफू अभिभावकीय भूमिकामा रहनुपर्ने उनले उल्लेख गरे। भट्टराईले रास्वपा, उज्यालो नेपाल जस्ता नयाँ दल र पुराना दलभित्रका अग्रगामी सोच राख्नेहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। यस्तै, शान्ति प्रक्रियाका बाँकी काम र विकासका अधुरा योजना पूरा गर्न संसद् बाहिरैबाट दबाब र सहयोग जारी राख्ने उनले बताए।

























