
विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार विराटनगर विमानस्थलमा भिन्न शैलीमा प्रस्तुत भएका छन्। आफ्ना चर्चित र तीखा अभिव्यक्तिका लागि चिनिने ओली यसपटक भने सञ्चारकर्मीसँग कुनै कुरा नगरी काठमाडौंतिर लागे। उनी यती एयरको विमानबाट काठमाडौं गएका हुन्।
प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला झापाको दमकमा मनोनयन दर्ता गराएर उनी विराटनगर आइपुगेका हुन्। विमानस्थलमा सञ्चारकर्मीहरू उनको प्रतिक्रिया लिन प्रतीक्षारत थिए। तर, उनी कार्यकर्ताको नाराबाजी र सुरक्षाकर्मीको घेराबीच केही नबोली सिधै विमानस्थलको भित्री भागमा प्रवेश गरे। सधैँ चर्चामा रहने ओलीको यो ‘मौनता’ लाई धेरैले रोचक मानेका छन्।
यसपटक झापा क्षेत्र नम्बर ५ निकै चर्चामा छ। त्यहाँ एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले प्रतिस्पर्धा गर्दै छन्। चुनावी माहोल तातिरहेका बेला बालेन भने अहिले ताप्लेजुङमा तीर्थयात्रा र चुनावी अभियानमा व्यस्त छन्।
उता झापामै रहँदा ओलीले आफ्ना कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरेर चुनावी रणनीतिका विषयमा छलफल गरे। दमकमा दुई शक्तिबीचको भिडन्तले गर्दा यसपटकको निर्वाचन देशभरिकै लागि चासोको विषय बनेको छ।

























