
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई अपराधीलाई जस्तो व्यवहार गरेर दुःख दिएको आरोप लगाएका छन्। गृहजिल्ला झापाबाट काठमाडौँ फर्कने क्रममा विमानस्थलमा भएको सुरक्षा जाँचलाई लिएर उनले यस्तो असन्तुष्टि पोखेका हुन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले विमानस्थलमा आफूमाथि सुन तस्करलाई जस्तो अपमानजनक व्यवहार भएको दाबी गरे। झापा जाँदा सामान्य व्यवहार भए पनि फर्कने क्रममा भने ‘माथिबाट आदेश छ’ भन्दै कर्मचारीले हैरानी दिएको उनले बताए। यस्तो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो महसुस गराएको ओलीको टिप्पणी छ।
अध्यक्ष ओलीले विदेशका नचिनेका ठाउँमा कहिलेकाहीँ नेपालीलाई हेपिने गरे पनि स्वदेशमै पूर्वप्रधानमन्त्रीमाथि यस्तो हुनु दुखद भएको बताए। उनले वर्तमान सरकारका कारण देशमा बेथिति र अन्याय बढेको आरोप लगाउँदै मुलुकलाई सही बाटोमा हिँडाउन एमालेको नेतृत्वमा सरकार बन्नुको विकल्प नरहेको समेत उल्लेख गरे।

























