
विराटनगर । कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रशासनिक, प्राविधिक र सुरक्षासहितको सबै तयारी पूरा भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार यसपटक कोशीमा महिला र दलित कोटा गरी २ पदका लागि मात्र निर्वाचन हुँदैछ । अन्य समूहको १ पदमा भने अर्को पक्षबाट उम्मेदवारी नपरेपछि कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट सुरुमा ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट एमालेका २ र कांग्रेसका १ जना उम्मेदवार मैदानमा उत्रिएका थिए भने विपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट २ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए ।
एमालेबाट दलिततर्फ सोमनाथ पोर्तेल र महिला तथा अल्पसंख्यकतर्फ रोशनी मेचे एवं अन्य समूहबाट कांग्रेसका सुनीलबहादुर थापाले मनोनयन दर्ता गराएका थिए । नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपाने उम्मेदवार छन् ।
अन्य समूहका नेकपा उम्मेदवार हेमराज घिमिरे तोकिएको समयमा उपस्थित हुन नसकेकाले उनको उम्मेदवारी दर्ता हुन नसक्दा कांग्रेस–एमाले गठबन्धनका तर्फबाट कांग्रेसका सुनीलबहादुर थापा उक्त समूहमा निर्विरोध निर्वाचित भइसकेका छन् । अब आइतबार महिला र दलित कोटाको २ पदका लागि मात्रै मतदान हुनेछ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका मेयर तथा उपमेयर र अध्यक्ष एवं उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । कोशी प्रदेशमा सुरुमा कुल ३६७ जना मतदाता थिए । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष थिए । तर, प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका कारण र कानुनी अयोग्यताका कारण केही मतदाताले मतदानमा भाग लिन पाउने छैनन् ।
९३ सदस्यीय प्रदेशसभामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सांसद भक्तिप्रसाद सिटौला झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि प्रदेशसभा सदस्यका रूपमा उनको मतदान अधिकार स्वतः खारेज भएको छ । त्यसअनुसार अब ९२ जना प्रदेशसभा सदस्यले मात्र राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने छन् ।
स्थानीय तहतर्फ २७४ मतदातामध्ये प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका ६ जना र भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई अयोग्य भएका १ जना गरी कुल ७ जना मतदान प्रक्रियाबाट बाहिरिएका छन् । अब स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष गरी २६७ जनाले मात्र मतदान गर्न पाउनेछन् ।
स्थानीय तहका जनप्रतिनिधिमध्ये धरान उपमहानगरपालिकाका मेयर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया मोरङको निर्वाचन क्षेत्र नम्बर २ तथा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट इलामको निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार छन् ।
त्यस्तै, सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलाई नेकपाले र लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई एमालेले ओखलढुंगाबाट उम्मेदवार बनाएको छ । माओवादीबाट विजयी भएका उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई उदयपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कारण उनीहरु राष्ट्रियसभा निर्वाचनको मतदाता सूचीबाट हटाइएका हुन् ।
अब कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल ३५९ जना मतदाताले मात्र मतदान गर्न पाउने अवस्था बनेको छ । निर्वाचन प्रणाली अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ तोकिएको छ ।
मतभारको हिसाबले कोशी प्रदेशमा जसपा (जनता समाजवादी पार्टी)सहित कांग्रेस–एमाले गठबन्धनको स्थिति अत्यन्तै बलियो देखिन्छ । प्रदेश र स्थानीय तह दुवै तह जोड्दा उक्त गठबन्धनको कुल मतभार ७ हजार ९ सय ८५ पुग्छ । जुन दुईतिहाइभन्दा धेरै हो । त्योमध्ये एमालेको मतभार ४ हजार १ सय ७२, कांग्रेसको ३ हजार ६ सय ८४ र जसपाको १२९ रहेको छ ।
नेकपाको कुल मतभार १ हजार ५ सय ८५ मात्र छ । जसमा तत्कालीन नेकपा (माओवादी केन्द्र)को १ हजार २ सय ५८ र नेकपा (एकीकृत समाजवादी)को ३ सय २६ छ । राप्रपाको ३ सय ४१ र स्वतन्त्र समूहको ५७ मतभार रहेको छ । अंकगणितीय हिसाबले हेर्दा गठबन्धनका उम्मेदवारविरुद्ध नेकपाका उम्मेदवारका लागि परिणाम उल्ट्याउन निकै कठिन देखिन्छ ।
५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक २ वर्षमा एकतिहाइ सदस्यको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार यसपटक निर्वाचनबाट १८ जना नयाँ सदस्य राष्ट्रियसभामा प्रवेश गर्नेछन् ।
कोशी प्रदेशबाट दलित कोटामा माओवादी केन्द्रका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाकी इन्दु गौतमको कार्यकाल समाप्त हुन लागेकाले उनीहरूको स्थान पूर्तिका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा सहभागी हुन कोशी प्रदेशभरका स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षसहित प्रदेशसभा सदस्यहरु प्रदेश राजधानी विराटनगरमा केन्द्रित भइसकेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । सबै तयारी पूरा भइसकेकाले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

























