
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिका लागि सर्वाधिक चासोको केन्द्र बनेको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ‘भावी प्रधानमन्त्री’ का रूपमा उभिएका बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई रोचक मात्र बनाएको छैन, बरु नेतृत्वको शैली र संस्कारका विषयमा नयाँ बहस समेत सिर्जना गरेको छ।
विवादित अभिव्यक्ति र क्षेत्रीय संवेदनशीलता चुनावी अभियानकै क्रममा एमाले अध्यक्ष ओलीले दिएको पछिल्लो अभिव्यक्तिले भने उनलाई विवादमा तानेको छ। आफ्ना प्रतिस्पर्धी बालेनप्रति कटाक्ष गर्ने क्रममा ओलीले दमकको तुलना मधेशका धनुषा र सर्लाहीसँग गर्दै ‘बालेनले गुइँठा बाल्न सिकाउने हो?’ भनी गरेको टिप्पणी यतिबेला उनको लागि महँगो सावित हुने देखिएको छ। मधेशका जिल्लाहरूलाई ‘कम विकसित’ देखाएर अपमान गरेको भन्दै मधेशी समुदायका युवाहरूले ओलीको पुत्ला दहन गरिरहेका छन् भने सामाजिक सञ्जालमा यसलाई ‘आत्मघाती कदम’ को संज्ञा दिइएको छ।
ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिस्पर्धी उम्मेदवारलाई ठट्टैठट्टामा उम्मेदवारी फिर्ता लिन भनेको विषय पनि उत्तिकै चर्चित छ ।
ओली र नेकपाका रञ्जित तामाङबीच मनोनयनपछि भएको संवादको मुख्य अंशः
तामाङ : तपाईलाई शुभकामना छ, म पनि चुनावी मैदानमा छु ।
ओली : ए बाबु पनि उम्मेदवार हो ?
तामाङ : हो, २०७४ मा तपाईलाई चुनाव जिताउन भोट मागेको थिए, अहिले मैदानमा आफैं आएँ ।
ओली : उम्मेदवारी फिर्ताको समय छ, विचार गर्दा हुन्छ ।
तामाङ : २०७४ मा तपाईको मत माग्दै क्षेत्रभरी हिँडेको हो । तपाईले त्यसको सम्मान गर्न सक्नुभएन । अहिले युवा आवाजको सम्बोधन गर्न म पनि मैदानमा उत्रिएको हुँ ।
ओली : उम्मेदवारी दर्ता गर्दा समस्या छैन, अझै पनि फिर्ता लिन पाइन्छ ।
तामाङ : हो, फिर्ता लिने समय छ । तपाईंको उमेर पनि भत्ता खाएर आराम गर्ने हो ।
ओली : पञ्जा लडाई खेल्ने हो ?
तामाङ : नमस्कार ! जेष्ठ नागरिकसँग कुस्ती खेल्ने मेरो संस्कार छैन ।
त्यस्तै, भक्तपुरबाट उम्मेदवार रहेका ओली निकट नेता महेश बस्नेतले बालेनको सन्दर्भलाई जोडेर दिएको टिप्पणीले एमालेलाई झनै रक्षात्मक बनाएको छ। पछि उनले फेसबुकमार्फत आत्मालोचना गरे पनि त्यसले समुदायमा पुर्याएको चोट र नेताहरूको ‘अपरिपक्वता’ पुष्टि भएको टिप्पणी भइरहेको छ।
बालेनको शान्त अभियान र चुनौती झापा ५ मा उम्मेदवारी दिएपछि पूर्वका विभिन्न जिल्ला हुँदै विराटनगर पुगेका बालेन भने संयमित देखिएका छन्। उनले विपक्षीप्रति गालीगलौज गर्नुको साटो आफ्ना योजना सुनाउने र जनताको समस्या सुन्ने रणनीति लिएका छन्। ‘गाली गर्ने समय जनताको समस्या सुन्न प्रयोग गरौँ’ भन्ने उनको शैलीलाई धेरैले मन पराएका छन्।
बालेनमाथि पनि प्रश्न नउठेका होइनन्। चुनावी अभियानमा व्यवसायीको गाडी प्रयोग गरेको र भदौमा भएको ‘जेनजी’ आन्दोलनमा उनको भूमिका शंकास्पद रहेको भन्दै विपक्षीहरूले मुद्दा उठाइरहेका छन्। यी कुराहरूको स्वतन्त्र पुष्टि नभए पनि चुनावमा बालेनका लागि यो चुनौतीको विषय बनेको छ।
‘ओपन लाइभ डिबेट’ को चुनौती र नयाँ मोड यसैबीच, राजनीतिमा नयाँ मोड तब आयो जब ओलीले ‘प्रधानमन्त्रीका उम्मेदवार’ बीच सार्वजनिक बहसका लागि आफू तयार रहेको बताए। शनिबार च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले ‘किन र केका लागि प्रधानमन्त्री हुने?’ भन्ने विषयमा खुला बहस हुनुपर्नेमा जोड दिए।
नेपाली राजनीतिमा एमालेका ओली, रास्वपाका बालेन र कांग्रेसका गगन थापालाई ‘प्रधानमन्त्री’ को मुख्य दावेदारका रूपमा हेरिएको छ। यदि यी तीन नेताबीच सार्वजनिक बहस भयो भने नेपाली निर्वाचनको इतिहासमा यो एउटा नौलो र स्वागतयोग्य अभ्यास हुनेछ।
विगतका ठूला दल र तिनका नेताहरूको ‘अहंकारी’ जस्तो देखिने शैली अनि नयाँ दलहरूको ‘जोश’ बीचको यो लडाइँले झापा-५ को नतिजा मात्र होइन, देशकै राजनीतिक दिशा तय गर्ने देखिन्छ। केपी ओलीले आफ्नो ‘गढ’ जाेगाउँछन् कि बालेनले ‘नयाँ इतिहास’ रच्छन्? यसको फैसलाका लागि फागुन २१ कुर्नैपर्ने हुन्छ।

























