
काठमाडौँ । राष्ट्रिय सभाका रिक्त १८ सदस्य पदका लागि आइतबार देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान सकिएलगत्तै गणना सुरु हुने र साँझ ५ बजेभित्र एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने तयारी छ।
सातै प्रदेशका तोकिएका मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। यसअघि नै कोशी प्रदेशबाट ‘अन्य’ समूहमा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी १७ सिटका लागि विभिन्न राजनीतिक दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।
निर्वाचनका लागि कोशीको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा मतदान केन्द्रहरू तोकिएका थिए। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाता रहेको यस निर्वाचनमा सबै क्षेत्रमा मतदान उत्साहजनक र शान्तिपूर्ण रहेको आयोगले जनाएको छ।
आगामी फागुन २० गते पदावधि सकिने १९ सदस्यमध्ये १८ जना निर्वाचनमार्फत चुनिन लागेका हुन् भने बाँकी १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन्।

























