
काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा यस मुद्दाको पेसी तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहितका आरोपितमाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। पूर्वमन्त्री बस्नेतले कुनै अध्ययनबिना नै सोझै टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गरेको अख्तियारको आरोप छ। उनले नेपाल दूरसञ्चार प्राधिकरणको बजेट स्वीकृत गर्ने क्रममा इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि प्रणाली खरिद गर्ने निर्णय गराएका थिए।
प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स लागू गर्न खोजेको दाबी अख्तियारले गरेको छ। खरिद पूर्वको अध्ययनले कानुन बनेपछि मात्रै नागरिकको कल र डेटा अनुगमन गर्न सकिने राय दिए पनि झाले २०७३ मा खरिदको निर्णय गराएका थिए। पटक-पटक बोर्डमा प्रस्ताव लगेर दबाब दिएको भन्दै उनलाई मुख्य अभियुक्त बनाइएको छ।
यसै मुद्दामा प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीमाथि पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ज्ञवाली कानुन मन्त्रालयको सहसचिव हुँदा प्राधिकरणको बोर्ड सदस्य थिए। सर्वोच्च अदालतले व्यक्तिको कल डिटेलमा पहुँच नदिन आदेश जारी गरेको अवस्थामा त्यसको उल्लङ्घन हुने गरी निर्णय प्रक्रियामा संलग्न भएको आरोप उनीहरूमाथि छ।
ज्ञवाली र उप्रेतीले बयानका क्रममा आफूहरूलाई अध्यक्षले दबाब दिएको बताए पनि अख्तियारले त्यसलाई विश्वासिलो नमानेको उल्लेख गरेको छ। विज्ञहरू अनुपस्थित रहेको बैठकबाटै मन्त्री र प्राधिकरणका पदाधिकारीहरूको मिलेमतोमा टेरामक्स खरिदको निर्णय भएको अख्तियारको निष्कर्ष छ।

























