
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी–विदेशी शक्तिहरूले लगानी गरिरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता कार्यक्रममा बोल्दै प्रचण्डले विचार र सिद्धान्तभन्दा पनि ‘स्टन्ट’ को भरमा लोकप्रिय हुनेहरूलाई बाह्य शक्तिले प्रयोग गरिरहेको दाबी गरे। पूर्वप्रधानमन्त्री प्रचण्डले त्याग र बलिदानको राजनीतिलाई पाखा लगाएर चर्चाका लागि मात्र काम गर्नेहरूलाई प्रवर्द्धन गरिनु मुलुकका लागि राम्रो नभएको बताए। ‘अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरेको देखिरहेका छौँ,’ उनले भने।
यस्ता शक्तिहरूले भ्रष्टाचार विरुद्धको अभियान र सामाजिक न्यायको मुद्दालाई वास्तविक रूपमा भन्दा पनि प्रचारमुखी शैलीमा मात्रै अघि बढाएको उनको जिकिर छ।

























