
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६१ वटा जिल्लामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को छनोट प्रक्रिया पूरा भएको छ। यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन देशभरबाट २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए।
प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेका अनुसार ६१ जिल्लामा नतिजा प्रकाशन भइसकेको छ भने दरखास्त कम परेका बाँकी १६ जिल्लामा बुधबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी छ। ती जिल्लाहरूमा पुनः दरखास्त आह्वान गरी लिखित र मौखिक परीक्षा सञ्चालन गरिएको थियो।
छनोट भएका निर्वाचन प्रहरीहरूलाई माघ १५ गतेदेखि १० दिने तालिम दिइनेछ र माघ २५ गतेदेखि फिल्डमा खटाइनेछ। प्रहरी प्रधान कार्यालयले आवेदकहरूको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) समेत जाँच गरेको छ, ताकि कुनै आपराधिक पृष्ठभूमि भएका व्यक्ति छनोट नहोउन्।
यसपटक नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दैछन्। निर्वाचन प्रहरीका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ।

























