
विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठानले आगामी माघ १६ गते पाँचौँ संस्करणको जिल्ला स्तरीय वादविवाद प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। सामाजिक अभियन्ता चुडामणि र कविता न्यौपानेको स्मृतिमा स्थापित यस प्रतिष्ठानले बुढीगंगा–३, नेमुवास्थित स्मृति इङ्लिस स्कुलको प्राङ्गणमा कार्यक्रम गर्न लागेको हो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता र भागवत वाचिका राधिका दासीको विशेष उपस्थितिमा हुने कार्यक्रममा यस वर्षको वादविवादका लागि ‘कृत्रिम बुद्धिमत्ता मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ?’ भन्ने शीर्षक तय गरिएको छ। मोरङ जिल्लाभरिका कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र मेडल प्रदान गरिने प्रतिष्ठानकी महासचिव रीता न्यौपानेले जानकारी दिइन्।
प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि चर्चित लेखक सुविन भट्टराई, प्राध्यापक सरोज घिमिरे र भेषजा काफ्ले सम्मिलित निर्णायक मण्डल गठन गरिएको छ। प्रतिष्ठानले बौद्धिक विकासका साथै खेलकुद क्षेत्रमार्फत राष्ट्रको नाम उच्च बनाउने खेलाडीहरूलाई पनि विशेष सम्मान गर्ने जनाएको छ।
प्रतिष्ठानले माघ १६ गते वादविवाद प्रतियोगिता र १७ गते अभिभावक दिवस तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरेको छ। शिक्षा, साहित्य, खेलकुद र समाजसेवाको क्षेत्रमा सक्रिय यस संस्थाले युवा तथा विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि निरन्तर काम गर्दै आएको छ।

























