
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अनुशासन र निर्णय विपरीत गतिविधि गरेको भन्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ। बुधबार पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको आधिकारिक निर्णय र उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको तथा पार्टीको हित र विधान विपरीत कार्य गरेको ठहर गर्दै उनीहरूमाथि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ। निष्कासनमा परेका प्रदीप यादव पूर्व खानेपानीमन्त्री हुन्।
पार्टीबाट निष्काशित हुनेहरूमा प्रदीप यादव, चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवल किशोर सिंह र डा. शिवजी यादव छन्।
निर्वाचनको मुखमा भएको यस कारबाहीले जसपा नेपालभित्रको आन्तरिक अनुशासनलाई कडाइका साथ लागू गरिएको सन्देश दिएको छ।

























