
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली क्रमशः नेपालबाट बाहिरिँदै जाँदा देशका अधिकांश भागमा मौसम सुधारको संकेत देखिएको छ ।
तर, यस प्रणालीले सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्म व्यापक प्रभाव पार्दै हिउँदे वर्षा र हिमपातको उल्लेखनीय रेकर्ड कायम गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार साँझदेखि सक्रिय रहेको प्रणाली बुधबार रातिदेखि कमजोर बन्दै बाहिरिएको हो ।
यो प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती हुँदै कोशी प्रदेशका पहाडी भूभागसम्म हल्कादेखि मध्यम वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि भारीसम्म हिमपात भएको छ । केही दिनदेखि निरन्तर चिसो बढेर जनजीवन प्रभावित बने पनि हिउँदे बालीका दृष्टिले यो वर्षा निकै उपयोगी मानिएको छ ।
कृषि विज्ञहरूका अनुसार गहुँ, जौ, तोरीलगायत बालीका लागि यो वर्षाको ठूलो महत्व छ र यसले उत्पादनमा सकारात्मक प्रभाव पार्नेछ । जल तथा मौसम विज्ञान विभागका बरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली हाल देशबाट बाहिरिसकेको छ ।
बिहीबारदेखि अधिकांश स्थानमा मौसम क्रमशः खुल्दै जानेछ । यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका १–१ स्थानमा बिहीबार हल्का वर्षा र हिमपातको सम्भावना कायम रहेको उनले बताए ।
विभागको तथ्यांकले यस पटकको हिउँदे वर्षाको प्रभाव पश्चिम नेपालमा सबैभन्दा धेरै देखिएको छ । पूर्वतर्फ जाँदै गर्दा प्रणाली कमजोर हुँदै गएका कारण पश्चिमका जिल्लाहरूमा तुलनात्मक रूपमा बढी वर्षा मापन भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी वर्षा सुर्खेतमा ४३ मिलिमिटर रेकर्ड गरिएको छ । जुन यस हिउँदे प्रणालीअन्तर्गत देशकै उच्च मापन हो ।
त्यसपछि रुकुमको सेरागाउँमा ३८ मिलिमिटर, बैतडीमा ३५.६ मिलिमिटर, डडेलधुरामा ३३.२ मिलिमिटर, जाजरकोटमा ३३ मिलिमिटर, मनाङमा ३२.४ मिलिमिटर, डोल्पामा ३१ मिलिमिटर र बाजुरामा ३०.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि बुधबार साँझ हल्का वर्षा भएको थियो । चालु हिउँदमा उपत्यकामा परेको यो पहिलो वर्षा हो ।
विभागका अनुसार उपत्यकाभित्र ललितपुर र भक्तपुरमा सबैभन्दा बढी ४.८ मिलिमिटर वर्षा मापन गरिएको छ भने काठमाडौंमा २.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । लामो समयपछि परेको वर्षाले उपत्यकामा धुलो कम हुनुका साथै चिसो केही बढाएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पनि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्ण वा आंशिक बदली रहेको छ । बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा देखिएको छ ।
बिहीबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । ती प्रदेशका उच्च भेगका १–२ स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना अझै रहेको छ ।
राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।
मौसम क्रमशः खुल्दै जाने अनुमानसँगै चिसो केही कम हुने अपेक्षा गरिएको छ । तर, बिहान र बेलुकाको समयमा कुहिरो र चिसो कायम रहन सक्ने भएकाले दैनिक जनजीवन, सवारी आवागमन तथा स्वास्थ्यमा प्रभाव पर्न सक्ने भन्दै मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

























