
बेइजिङ (एजेन्सी)। चीनले म्यानमारमा अवैध स्क्याम सञ्जाल र आपराधिक साम्राज्य चलाउने कुख्यात ‘मिङ परिवार’का ११ सदस्यलाई मृत्युदण्ड दिएको छ। झेजियाङ प्रान्तको अदालतले उनीहरूलाई हत्या, अपहरण, ठगी र अवैध जुवा घर सञ्चालन जस्ता गम्भीर अपराधमा दोषी ठहर गर्दै सेप्टेम्बरमा सुनाएको सजाय कार्यान्वयन गरेको हो।
मिङ परिवार म्यानमार-चीन सीमावर्ती सहर लाउकाइङमा प्रभावशाली माफिया समूहको रूपमा सक्रिय थियो। उनीहरूले एक समयको शान्त सहरलाई क्यासिनो, रात्रि क्लब र अपराधको अखडामा परिणत गरेका थिए। सन् २०२३ मा चीनको चर्को दबाबपछि म्यानमार सरकारले उनीहरूलाई पक्राउ गरी चीनलाई बुझाएको थियो।
१० अर्ब युआनको अवैध साम्राज्य अदालतका अनुसार सन् २०१५ देखि २०२३ सम्ममा मिङ परिवारले स्क्याम (अनलाइन ठगी) र जुवाबाट १० अर्ब युआनभन्दा बढी अवैध आम्दानी गरेका थिए। उनीहरूले सञ्चालन गरेका केन्द्रहरूमा हजारौँ चिनियाँ नागरिकलाई बन्धक बनाएर जबरजस्ती ठगीका काममा लगाइन्थ्यो।
यस क्रममा १४ जना चिनियाँ नागरिकको ज्यान गएको र कैयौँ घाइते भएको अदालतले जनाएको छ। यो कारबाहीले सीमापार हुने संगठित अपराध र अनलाइन ठगीविरुद्ध चीनले कडा नीति लिएको प्रष्ट पारेको छ।



















