
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा पर्चा प्रदर्शन गर्दै सरकारविरुद्ध विरोध जनाएको छ । प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राख्दै पार्टीका सांसदहरूले सभामुखको आसनअगाडि उभिएर विरोध जनाएका हुन् ।
सांसदहरूले ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नुपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’, ‘संसद छलेर अध्यादेश ल्याउन बन्द गर’ र ‘संसदीय जिम्मेवारी बहन गर’ लेखिएका पर्चा प्रदर्शन गरेका थिए । बैठक सञ्चालनका क्रममा अचानक सांसदहरूले पर्चा देखाएपछि केहीबेर सदनको वातावरण तनावपूर्ण बनेको थियो ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसदभित्र पर्चा प्रदर्शन गर्ने अभ्यास मर्यादाविपरीत भएको टिप्पणी गर्दै यस्ता गतिविधि दोहोर्याउन नहुने बताएका छन् । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदमा उपस्थित भएर उठाइएका प्रश्नको जवाफ दिनुपर्ने र जनमतको सम्मान गर्नुपर्ने माग दोहोर्याएको छ ।
























