
काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएकी कैदी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् ।
अदालतबाट तोकिएको जन्मकैदको सजाय भुक्तान गरिरहेकी उनी प्रेमीलाई भेट्न कारगारबाट फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नुवाकोटको विदुर नगरपालिका–१३ घर भएकी सपना शुक्रबार राति करिब १ बजेतिर महिला बन्दीगृहका सुरक्षाकर्मीलाई छलेर भागेकी थिइन् । सीसीटीभी फुटेजमा देखिएअनुसार उनले भुइँमा अग्ला सामान थुपारेर पर्खाल नाघेकी थिइन् । कारागार प्रशासन र सुरक्षाकर्मीलाई नै झुक्याएर भाग्न सफल भएपछि उनले प्रेमीलाई भेटेको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति उनलाई ठमेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी फरार भएपछि आफ्ना प्रेमी समीर श्रेष्ठको सम्पर्कमा पुगेकी थिइन् । समीर भोजपुर घर भई हाल काठमाडौंमा बस्दै आएका २६ वर्षीय युवक हुन् । प्रहरीले सपनासँगै समीलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार सपना र समीरबीचको सम्बन्ध कारागारमै विकसित भएको थियो । समीर कारागारमा रहेकी आफ्नी आमालाई भेट्न पटकपटक सुन्धारा कारागार जाने गर्दथे । उनकी आमा पनि त्यही कारागारमा कैद भुक्तान गरिरहेकी थिइन् । भेटघाटका क्रममा सपना र समीरबीच चिनजान बढ्दै गएर प्रेम सम्बन्धमा परिणत भएको प्रहरी स्रोतको भनाइ छ ।
कारागारभित्र रहँदा पनि सपना निरन्तर समीरसँग सम्पर्कमा रहने गरेकी थिइन् । प्रहरीका अनुसार उनले मोबाइलमार्फत समीरसँग नियमित कुराकानी गर्ने गर्थिन् । समीरका बुबासँग समेत उनको सम्पर्क रहेको खुलेको छ । फरार भएपछि पनि सपनाले सुरुमा समीरलाई फोन गरेकी थिइन् । फोन सम्पर्क हुन नसकेपछि उनले समीरका बुबालाई सम्पर्क गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । त्यसपछि उनी असनस्थित समीर बस्ने कोठामा पुगेकी थिइन् ।
समीर असन क्षेत्रमा एउटा भाँडा पसलमा काम गर्ने व्यक्ति भएको खुलेको छ । फरार कैदीलाई आश्रय दिएको आरोपमा समीरमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार कैदी आफ्नो सम्पर्कमा आएपछि सुरक्षाकर्मीलाई खबर गर्नुपर्ने कानुनी दायित्व हुँदाहुँदै उनले सपनालाई लुकाएर राखेका थिए । यही आधारमा उनीमाथि ‘फरार कैदी भगाउन सहयोग गरेको’ कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
सपना गम्भीर आपराधिक घटनामा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेकी कैदी हुन् । डाँका चोरी, अपहरण र हत्या मुद्दामा अदालतले उनलाई २५ वर्ष कैद (जन्मकैद)को सजाय सुनाएको थियो । प्रहरीका अनुसार उनी किशोर अवस्थादेखिनै आपराधिक गतिविधिमा संलग्न हुन थालेकी थिइन् । १७ वर्षको उमेरदेखि चोरीका घटनामा पक्राउ पर्दै छुट्दै गर्ने क्रम रहेको प्रहरी अभिलेखमा उल्लेख छ ।
उनले २०७७ सालमा रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या गरेकी थिइन् । प्रहरी अनुसन्धानअनुसार बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लुटेपछि घटना परिवारलाई सुनाउने डरले सपनाले उनलाई अपहरण गरेर हत्या गरेकी थिइन् । विद्यालय गएकी बालिका घर नफर्केपछि खोजीका क्रममा कालिकास्थित भिरको ओडारमा शव फेला परेको थियो । प्रहरीका अनुसार बालिकाको घाँटी डोरीले कसेर हत्या गरिएको थियो । यही घटनापछि अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।
सुरुमा रसुवा कारागारमा राखिएकी उनलाई पछि सुन्धारास्थित केन्द्रीय कारागारमा सरुवा गरिएको थियो । उनी कारागारबाट भागेको पनि पहिलोपटक हैन । गत २४ भदौमा भएको ‘जनेजी आन्दोलन’का क्रममा पनि उनी कारागारबाट फरार भएकी थिइन् । त्यसबेला पनि उनी प्रेमी समीरकै सम्पर्कमा पुगेको प्रहरी स्रोतको दाबी छ । पछि प्रहरीले उनलाई रसुवाबाट पक्राउ गरेर पुनः कारागारमा राखेको थियो ।
तर, यसपटक उनले फेरि सुरक्षा घेरा तोड्दै कारागारबाट भागेपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । महिला बन्दीगृहबाट जन्मकैदको सजाय पाएकी कैदी सहजै पर्खाल नाघेर भाग्न सफल हुनु, त्यसपछि दुई दिनसम्म काठमाडौंमै लुकेर बस्न सक्नु र सुरक्षाकर्मीले तत्काल पत्ता लगाउन नसक्नुले कारागारभित्रको निगरानी प्रणालीमाथि प्रश्न खडा भएको छ ।
























