रिट रोकिएपछि सर्वोच्चमै विवाद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १३:१०
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर हुन आएका रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता नगरेपछि न्यायपालिकाभित्रकै असामान्य विवाद सतहमा आएको छ ।

कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्याय प्रशासन सञ्चालनमै अवरोध देखिएको उल्लेख गर्दै रोकिएका सबै रिट तथा दरपीठविरुद्धका निवेदन तत्काल दर्ता गर्न आदेश दिएकी छन् । सोमबार जारी लिखित आदेशमा उनले अदालतमा दर्ता हुन आएका निवेदन रोकिनु न्यायप्राप्तिको बाटो अवरुद्ध गर्नु भएको भन्दै मुख्य रजिष्ट्रारलाई सोमबार दिउँसो सबै रिट दर्ता गरी जेठ ५ गतेको पेसीमा चढाउन निर्देशन दिएकी हुन् ।

Advertisement

उनले अदालतमा दर्ता गर्न ल्याइएका निवेदनहरू अल्मल्याएर न्यायिक प्रक्रियामै अवरोध पुर्‍याइएको भन्दै यसले न्यायपालिकाको स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उल्लेख गरेकी छन् । संवैधानिक परिषद्ले चौथो वरियताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीसहितका कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गर्न खोजेका थिए ।

तर, सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि त्यसविरुद्ध समेत निवेदन दर्ता गर्न खोजिएको थियो । कानुन व्यवसायीहरूले मुख्य रजिष्ट्रार विमल पौडेलसहितका कर्मचारीले दर्ता नगरी अलमल्याएको गुनासो गरेका थिए ।

कामु प्रधान न्यायाधीश मल्लले आदेशमा मुख्य रजिष्ट्रारसँग यसबारे ध्यानाकर्षण गराउँदा ‘प्रधान न्यायाधीशमा सिफारिस भएका न्यायाधीशकै निर्देशनका कारण दर्ता नगरिएको’ जानकारी आएको उल्लेख गरेकी छन् । आदेशमा उनले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ र सर्वोच्च अदालत नियमावली २०७४ अनुसार न्याय प्रशासन प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको हुने भन्दै हस्तक्षेप गर्नु परेको जनाएकी छन् ।

उनले अदालतमा दर्ता हुन आएका निवेदन रोकिनु कानुनी शासनको उल्लंघन भएको उल्लेख गर्दै कुनै पनि नागरिकलाई संवैधानिक हक प्रयोग गर्नबाट रोक्न नहुने स्पष्ट पारेकी छन् । अदालत प्रशासनले इजलासले निर्णय गर्नुपर्ने विषय समेत ‘होल्ड’मा राखेको र दरपीठविरुद्धको निवेदन इजलाससमक्ष नै प्रस्तुत नगरेको अवस्थालाई उनले गम्भीर भन्दै टिप्पणी गरेकी छन् ।

यसैबीच, कानुन व्यवसायीहरूको टोली सोमबार कामु प्रधान न्यायाधीश मल्ललाई भेट्न सर्वोच्च पुगेको थियो । भेटमा उनीहरूले संवैधानिक परिषद्को निर्णयविरुद्धको रिट मात्रै नभई अध्यादेशलगायत अन्य विषयका निवेदनसमेत दर्ता नगरी रोकिएको गुनासो गरेका थिए ।

स्रोतका अनुसार भेटमा न्याय प्रशासनमाथि राजनीतिक र प्रशासनिक प्रभाव परेको विषयमा समेत छलफल भएको थियो । प्रधान न्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोजकुमार शर्मा भने संसदीय सुनुवाइको तयारीको कारण देखाउँदै हाल इजलासमा बसेका छैनन् ।

तपाइको प्रतिक्रिया
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता
शिक्षामन्त्रीको राजीनामापछि एक महिनादेखिको आन्दोलन फिर्ता
बोलाएको बखत उपस्थित हुने सर्तमा छुटे मुकेश कार्की
स्काउट विघटनविरुद्ध कोशीको विद्रोह, निर्णय फिर्ता नभए आन्दोलनको चेतावनी
पाँच प्रदेशमा सत्ता बाँडफाँट, दुई प्रदेशका लागि थप छलफलको सहमति
अविश्वास प्रस्तावमाथिको छलफलअघि नै मुख्यमन्त्रीको राजीनामा
मोरङ धनपालथानको पोखरीमा डुबेर बालिकाको मृत्यु
गाँजा ओसारपसारमा सुरक्षा दिँदै हिँडेका मोटरसाइकल चालकसहित दुई जना पक्राउ
बालकको मृत्युपछि तनाव : स्वास्थ्य केन्द्रमा तोडफोड, सडक अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×