
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रतिष्ठानका लागि सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याएर आर्थिक अनियमितता गरेको आरोपमा आयोगले बिहीबार यो कदम चालेको हो।
अख्तियारले उपकुलपति भण्डारीसँगै तत्कालीन रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्ति गर्ने ‘हिमालयन मेडिटेक प्रा.लि.’ का सञ्चालकलाई प्रतिवादी बनाएको छ। सार्वजनिक खरिद ऐन विपरित निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी ‘स्पेसिफिकेसन’ तयार पारेको र मापदण्ड नपुगेको मेसिन स्वीकार गरी भुक्तानी दिएको अनुसन्धानबाट खुलेको प्रवक्ता सुरेश न्यौपानेले बताए।
यस प्रकरणमा नेपाल सरकार र प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ हानी नोक्सानी पुगेको अख्तियारको ठहर छ। आयोगले सबै प्रतिवादीहरूबाट उक्त बिगो रकम असुल उपर गरी कैद र जरिवानाको सजाय हुनुपर्ने मागदाबी गरेको छ।

























