
काठमाडौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने लक्ष्यसहित गृह मन्त्रालयले देशभरका अतिसंवेदनशील मतदान केन्द्रमा १महिनाअघिदेखि नै कडा निगरानी सुरु गरेको छ ।
विगतका अनुभव, सम्भावित सुरक्षा जोखिम र भौगोलिक अवस्थाको सूक्ष्म विश्लेषणका आधारमा कुल १० हजार ९ सय ६७ मतदानस्थलमध्ये ३ हजार ६ सय ८० मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखी विशेष सुरक्षा व्यवस्था मिलाइएको हो । गृह मन्त्रालयका अनुसार ती मतदान केन्द्रमा अहिले नै अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको छ ।
अतिसंवेदनशील सूचीमा परेका अधिकांश मतदान केन्द्र तराईका जिल्लामा रहेका छन् । यसबाहेक सुरक्षा चुनौतीको स्तर मूल्यांकन गर्दै थप ४ हजार ४ सय ४२ मतदान केन्द्रलाई ‘संवेदनशील’ सूचीमा राखिएको छ । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार केही निर्वाचन क्षेत्र र मतदान केन्द्रमा सुरक्षाको दृष्टिले निगरानी बढाइएको छ ।
सुरक्षा चुनौतीका आधारमा मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी ३ तहमा वर्गीकरण गरिएको छ । अतिसंवेदनशील सूचीमा रहेका केन्द्रहरूको वस्तुस्थिति बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थलगत अनुगमन र सूचना संकलनलाई तीव्र बनाएका छन् । यी केन्द्रहरू मुख्यतः भौगोलिक विकटता, विगतमा भएका हिंसात्मक घटना र सम्भावित सुरक्षा जोखिमलाई आधार मानेर छनोट गरिएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं, दोलखा, सिन्धुली, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, रुपन्देही, बाँके, बर्दिया, चितवन, मोरङ, सुनसरी, कास्की लगायतका जिल्लामा सुरक्षा अवस्था कडा पारिएको छ । प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा सबैभन्दा बढी १ हजार २ सय ४६ अतिसंवेदनशील मतदान केन्द्र रहेका छन् ।
त्यसपछि सुदूरपश्चिम प्रदेशमा ४ सय ८१, लुम्बिनी प्रदेशमा ४ सय ६२, कोशी प्रदेशमा ४ सय ३९, कर्णाली प्रदेशमा ३ सय ५८, गण्डकी प्रदेशमा ३ सय २८ र बागमती प्रदेशमा ४४ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा छन् । काठमाडौं उपत्यकाभित्र १२ वटा अतिसंवेदनशील मतदानस्थल रहेका छन् ।
गृह मन्त्रालयले सुरक्षा जनशक्ति परिचालनमा पनि स्पष्ट मापदण्ड तय गरेको छ । अतिसंवेदनशील मतदानस्थलमा एउटा केन्द्र भएमा ३ जना नेपाल प्रहरी र १० जना निर्वाचन प्रहरी खटाइनेछ । एउटै स्थलमा थप केन्द्र भएमा प्रतिकेन्द्र २ जना नेपाल प्रहरी र ४ जना निर्वाचन प्रहरी थप गरिने व्यवस्था गरिएको छ ।
संवेदनशील मतदानस्थलमा आधारभूत रूपमा ३ जना नेपाल प्रहरी र ६ जना निर्वाचन प्रहरी खटाइनेछ भने सामान्य स्थलमा २ केन्द्रसम्म ४ जना नेपाल प्रहरी र ९ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । आवश्यकताअनुसार सशस्त्र प्रहरी बल र नेपाली सेना पनि परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ ।
मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउन मन्त्रालयले सुरक्षा निकायसँगै सामाजिक समन्वयको अवधारणा अघि सारेको छ । वडा तहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी, स्थानीय अगुवा तथा प्रबुद्ध व्यक्तिहरूलाई निर्वाचनका सबै प्रक्रियामा सहभागी गराएर अपनत्व र विश्वास अभिवृद्धि गर्ने योजना अघि बढाइएको हो ।
यसका लागि गृह मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ तयार गरी जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन पठाइसकेको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी तथा प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनमा सहभागी गराएर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माण गर्ने उद्देश्यले अवधारणा तयार गरिएको बताए ।
यसको कार्यान्वयनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई दिइएको छ । कार्यान्वयनको अनुगमन गृह मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयले गर्नेछन् । अवधारणाअनुसार वडा तहमा रहेका सरोकारवालाको पहिचान गरी सूची तयार गर्ने, मतदानस्थलको स्थलगत निरीक्षणका क्रममा उनीहरूसँग बैठक आयोजना गर्ने, आवश्यकताअनुसार टेलिफोन सम्पर्क, समूह एसएमएस, भर्चुअल संवाद र अन्तरक्रिया सञ्चालन गरिनेछ ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपालले पनि निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ । काठमाडौंमा आयोजित वरिष्ठ अधिकृत सम्मेलनमार्फत सशस्त्र प्रहरी नेतृत्वले बाहिनीपतिहरूलाई निर्वाचन सुरक्षामा अत्यन्त संवेदनशील भएर लाग्न निर्देशन दिएको छ ।
सशस्त्रका महानिरीक्षक राजु अर्यालले फागुन २१ गते हुने निर्वाचनमा कुनै पनि दलको पक्ष नलिई पूर्ण व्यावसायिक रूपमा खटिन, उम्मेदवारसँग अनावश्यक सम्पर्क नगर्न र निर्वाचनलाई शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गराउन विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् । उनले फिल्डमा खटिने कमाण्डरहरूलाई मानवीय क्षति हुन नदिन, अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्न विशेष ध्यान दिन आग्रह गरेका छन् ।
सशस्त्र प्रहरी बल निर्वाचन सुरक्षाको दोस्रो घेरामा रहेर परिचालित हुने छ । सरकार र सुरक्षा निकायको संयुक्त तयारीले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनलाई शान्त, सुरक्षित र विश्वासयोग्य बनाउन ठोस आधार तयार भएको बताइएको छ ।

























