
काठमाडौं । ४ वर्षयता स्थिर रहेको नेपाल प्रहरीको रासनमा १० प्रतिशत वृद्धि गरिएको छ । आगामी १ फागुनदेखि लागू हुने गरी मन्त्रिपरिषद् बैठकले रासन स्केल र दैनिक रकम बढाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै करिब ८० हजार प्रहरी कर्मचारी लाभान्वित हुने जानकारी दिए । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार समग्रमा रासन रकममा औसत १० प्रतिशत वृद्धि भएको हो ।
जिल्लागत महँगीअनुसार रासन रकम फरक–फरक रहने व्यवस्था यथावत् छ । काठमाडौंमा कार्यरत प्रहरीले हाल दैनिक २०१ रुपैयाँ २५ पैसा रासन पाउँदै आएका थिए ।
अब १ फागुनदेखि यो रकम बढेर २२१ रुपैयाँ ९२ पैसा पुग्नेछ । झापामा कार्यरत प्रहरीले पाउने दैनिक रासन १८० रुपैयाँ ५५ पैसाबाट बढेर १९९ रुपैयाँ १० पैसा हुनेछ ।
सबैभन्दा बढी रासन पाउने हुम्लाको उत्तरी भेगमा कार्यरत प्रहरीले अब दैनिक ९५२ रुपैयाँ ३६ पैसा पाउने छन् । हाल ८६५ रुपैयाँ ६५ पैसा छ ।
रासनको परिमाण र पोषण मूल्य पनि बढाइएको छ । दैनिक चामल ६९० ग्रामबाट ७२० ग्राम पुर्याइएको छ भने क्यालोरी ४०३०.५ बाट बढेर ४३६४ पुगेको छ ।
यसअघि २०७८ सालमा रासन १५ प्रतिशत बढेको थियो । त्यसयता ४ वर्षपछि पुनः वृद्धि गरिएको हो । यसपटक रासनमा अन्डा, मासु र हाई इनर्जी बिस्कुटसमेत थपिएका छन् ।
अब नेपाल प्रहरीका कर्मचारीले रासनमा १९ प्रकारका सामग्री पाउने छन् । दैनिक २५ ग्राम मासु, एउटा अन्डा र हाई इनर्जी बिस्कुट थपिएसँगै अन्य सुरक्षा निकायसँग रहेको रासन असमानताको गुनासोसमेत सम्बोधन भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लामो समयदेखि उठ्दै आएको जायज माग सम्बोधन भएको भन्दै यसले प्रहरीको मनोबल सुदृढ हुने बताएका छन् । सरकारको यो निर्णय प्रहरी संगठनका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।

























