
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी भएको छ। बालेन र उनकी पत्नी घरमा नभएको मौका छोपी चोरहरूले धनमाल चोरेका हुन्। शुक्रबार साँझ बालेनका मामा ससुराका छोरा घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि चोरी भएको रहस्य खुलेको हो। उनी नियमित रूपमा घरमा बत्ती बाल्ने र बिरुवामा पानी हाल्न जाने गर्थे।
प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सीसीटीभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। अन्य के–कति सामान चोरी भयो भन्नेबारे विवरण खुल्न बाँकी छ। घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको बताए।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार माघ १४ गतेदेखि शुक्रबार साँझको बीचमा चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका हुन्। सीसीटीभी नै उखेलेर लैजानुले यो काम ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने प्रहरीको भनाइ छ। प्रहरीले शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको छ।

























