पतञ्जलि जग्गा प्रकरण: माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार ११:३२

काठमाडौँ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा यस मुद्दाको पेसी तोकिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नेपालमाथिको अनुसन्धान तामेलीमा राख्ने निर्णय गरेको थियो। विशेष अदालतले सो निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएपछि उक्त फाइल अदालत आइपुगेसँगै आजका लागि सुनुवाइ तय भएको हो। अख्तियारले जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Advertisement

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको मागदाबी गरिएको छ। उनले प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरी सरकारी र सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप अख्तियारको छ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो। सोही क्रममा ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा उनीसहित ९३ जनाविरुद्ध मुद्दा अघि बढेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.