
जनकपुरधाम। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा सुरक्षा व्यवस्था निकै सुदृढ बनाइएको छ। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन प्रदेशभर तीन तहको सुरक्षा घेरा परिचालन गर्ने र अति संवेदनशील क्षेत्रमा ड्रोन तथा सीसी क्यामेरामार्फत निगरानी गर्ने तयारी गरिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका आठ जिल्लामा रहेका कुल २ हजार १६० मतदानस्थलमध्ये ५७ प्रतिशत अर्थात् १ हजार २३७ स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ। सुरक्षाका दृष्टिले सप्तरी जिल्ला सबैभन्दा बढी ‘रेड जोन’ मा देखिएको छ, जहाँका २०९ मतदानस्थल अति संवेदनशील छन्। यसैगरी धनुषाका १९४, महोत्तरीका १६३ र अन्य जिल्लाका विभिन्न केन्द्रहरूलाई पनि सुरक्षा चुनौतीका आधारमा वर्गीकरण गरिएको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले निर्वाचनका लागि ४० हजारभन्दा बढी नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने जानकारी दिए। साथै सशस्त्र प्रहरीका १० हजार र नेपाली सेनाको टोली समेत गरी मधेसमा कुल ५० हजारभन्दा बढी सुरक्षाकर्मी चुनावी मैदानमा उत्रनेछन्। ४६४ किलोमिटर लामो खुला सीमाका कारण हुनसक्ने अवाञ्छित गतिविधि रोक्न सीमा क्षेत्रमा विशेष कडाइ गरिएको छ।
सशस्त्र प्रहरी बलका डीआईजी कृष्ण ढकालका अनुसार निर्वाचन अधिकृतको कार्यालय, मोबाइल टोली र रिजर्भ फोर्समार्फत जनशक्ति परिचालन भइसकेको छ। यता, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरूले भारतीय सुरक्षा निकायसँग समन्वय बैठक गरिसकेको र फागुन ९ गते पुनः सीमा सुरक्षा बैठक बस्ने तयारी भइरहेको बताए। खुला सिमाना र विगतका घटनाक्रमलाई ध्यानमा राख्दै सुरक्षा निकायले यसपटक थप विशेष रणनीति अपनाएको छ।

























