
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी–२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने पाकिस्तान सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।
पाकिस्तानले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा सहभागिता जनाउने अनुमति दिएको भए पनि फेब्रुअरी १५ मा तय भएको भारतविरुद्धको खेलमा राष्ट्रिय टोलीलाई मैदानमा नउत्रने निर्णय गरेको थियो । आईसीसीले यसलाई ‘छनोटमूलक सहभागिता’को संज्ञा दिँदै यस्तो अभ्यास विश्वव्यापी खेलकुद प्रतियोगिताको आधारभूत सिद्धान्तविपरीत भएको स्पष्ट पारेको छ ।
आईसीसीद्वारा जारी विज्ञप्तिमा पाकिस्तान सरकारको उक्त निर्देशनले विश्वकपको मूल भावना र संरचनामाथि नै प्रश्न उठाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आईसीसीका प्रतियोगिताहरू समानता, निष्पक्षता, प्रतिस्पर्धात्मकता र निरन्तरताका आधारमा सञ्चालन हुन्छन् । सबै योग्य टोलीहरूले तय गरिएको तालिकाअनुसार समान धरातलमा प्रतिस्पर्धा गर्नु नै विश्वकपको आत्मा हो ।’
यस्तो अवस्थामा कुनै एक राष्ट्रले छनोटका आधारमा खेल खेल्ने वा नखेल्ने निर्णय लिनु प्रतियोगिताको अखण्डतामाथि सिधा प्रहार हुने आईसीसीको ठहर छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)बाट औपचारिक धारणा सार्वजनिक भइनसकेको भए पनि आईसीसीले यस निर्णयले १ खेललाई मात्र नभएर सम्पूर्ण प्रतियोगिताको विश्वसनीयतालाई कमजोर बनाउने चेतावनी दिएको छ ।
यसले विश्व क्रिकेटको सन्तुलन बिगार्ने र दीर्घकालीन रूपमा पाकिस्तान क्रिकेटमै नकारात्मक असर पार्न सक्ने विज्ञप्तिमा उल्लेख छ । आईसीसीले सरकारहरूको राष्ट्रिय नीतिको सम्मान गर्ने स्पष्ट गर्दै यस्तो निर्णय विश्व क्रिकेट र विश्वभर रहेका लाखौँ क्रिकेट प्रशंसक तथा पाकिस्तानका समर्थकको हितविपरीत रहेको जनाएको छ ।
चयनात्मक सहभागिताले विश्वकपको पवित्रता खल्बलिने र समग्र क्रिकेट इकोसिस्टममा अस्थिरता सिर्जना हुन सक्ने चेतावनीसमेत आईसीसीले दिएको छ । आईसीसीले पाकिस्तान सरकारलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै सबै सरोकारवालाको हित सुरक्षित हुने गरी समाधान खोज्न पाकिस्तान क्रिकेट बोर्डसँग सहकार्य गर्ने अपेक्षा गरेको छ ।
आईसीसीका अनुसार सफल विश्वकप आयोजना गर्नु साझा जिम्मेवारी हो । त्यसमा सबै सदस्य राष्ट्रहरूको समान प्रतिबद्धता अनिवार्य रहेको आईसीसीले उल्लेख गरेको छ ।



















