
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हुलाक भन्सार अधिकृत इन्द्र न्यौपाने, नायब सुब्बा छवि प्रसाद रिजाल र कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीलाई आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो।
कुरियर कम्पनीमार्फत विदेश पठाउने सामान सहज गरिदिने बहानामा कर्मचारीहरूले सेवाग्राहीसँग घुस माग्ने गरेको सूचनाका आधारमा अख्तियारले छापा मारेको थियो। पक्राउ परेकामध्ये कार्यालय सहयोगी पुडासैनीको साथबाट घुसको १० हजार र स्रोत नखुलेको १ लाख ३६ हजार ४२० गरी कूल १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ। यस्तै, निकासी शाखाका नासु रिजालको साथबाट घुस बापतको २० हजार र स्रोत नखुलेको २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ।
अख्तियारको टोलीले पक्राउ परेका कर्मचारीहरूको साथबाट २३ थान मोबाइल फोन समेत बरामद गरेको छ। उनीहरूले लामो समयदेखि वैदेशिक पार्सल पठाउने क्रममा मिलेमतो गरी अवैध असुली गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

























