
काठमाडौं । राष्ट्रियसभाले सरकारद्वारा जारी गरिएका ३ वटा अध्यादेशलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको सभाको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश पारित गरेको हो । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले ३ वटै अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
प्रस्तावमाथि कुनै विरोध नआएपछि सभाले सर्वसम्मत रूपमा अध्यादेशहरू पारित गरेको हो । यसै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभामा पेस गरे ।
त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन् । राष्ट्रियसभाको अर्को बैठक माघ २३ गते शुक्रबारका लागि बोलाइएको छ ।

























