
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन्। बिहीबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइ कार्यको अनुगमन गरेपछि उनले यस्तो जानकारी दिएका हुन्।
आयोगमा केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनका उजुरी परेको उल्लेख गर्दै भण्डारीले ती उजुरीमाथि अनुसन्धान भइरहेको बताए। ‘हामीले आचारसंहिता कडाइका साथ लागू गरेका छौँ र यसको पालना भए-नभएको अनुगमन पनि गरिरहेका छौँ,’ उनले भने, ‘उजुरी परेका उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ। केहीको जवाफ आइसकेको छ भने केही आउने क्रममा छ। प्राप्त स्पष्टीकरणको अध्ययनपछि आयोगले उचित निर्णय लिनेछ।’
उनले निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको भन्दै तोकिएकै समयमा चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे। सञ्चारमाध्यमहरूलाई समेत कुनै पक्ष वा विपक्षमा नलागी निष्पक्ष समाचार सामग्री सम्प्रेषण गर्न उनले अनुरोध गरे।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य धमाधम भइरहेको छ। आयोगका अनुसार हालसम्म ७२ लाख ६० हजार मतपत्र छापिएर ५ हजार ८ सय २५ बाकस प्याकिङ भइसकेको छ। प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने अनुमान छ।
त्यस्तै, समानुपातिकतर्फका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइको काम सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

























