
राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। बनभोज खान गएका बालकहरूले खोलामा भेटिएको सकेट बमजस्तो देखिने वस्तुलाई खेलौना ठानेर दाउरासँगै चुल्हो नजिक राख्दा अचानक विस्फोट भएको हो।
विस्फोटमा परेर स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका छन्। घाइतेहरूलाई तत्काल मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा प्राथमिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये साहस र प्रशिसको खुट्टा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ भने कविर र सुरजको शरीरमा पनि छर्रा लागेको छ। उक्त स्थान नेपाली सेनाको सैन्य अभ्यास स्थल रहेकोले अभ्यासका क्रममा सेनाले बिर्सिएर छोडेको वा विस्फोट हुन बाँकी रहेको बम पड्किएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले घटना र भेटिएको शंकास्पद वस्तुबारे गम्भीरताका साथ थप अनुसन्धान भइरहेको बताए। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर यसबारे विस्तृत बुझ्ने काम गरिरहेको छ।

























