
काठमाडौँ । स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहितका आरोपितहरूको आज विशेष अदालतमा सुनुवाइ हुँदैछ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा यो मुद्दाको पेसी तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते मिश्रासहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। मेमोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार पारेदेखि भुक्तानी दिँदासम्म मिलेमतो गरी राज्यलाई १४ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको अभियोग उनीहरूमाथि छ।
यो मुद्दामा विभागका तत्कालीन निर्देशकहरू डा. श्रवणकुमार थापा र विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया तथा प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले पनि आरोपित छन्। यस्तै, म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्सका सञ्चालक सुन्दर भुसालसहित अन्य कर्मचारी र इन्जिनियरहरूविरुद्ध पनि मुद्दा दर्ता भएको छ।
अख्तियारको अनुसन्धानले देखाएअनुसार, ठेक्का पाउने कम्पनीकै अर्को फर्मबाट दररेट मगाएर अस्वाभाविक रूपमा बढी लागत अनुमान तयार पारिएको थियो। करबाहेक १२ करोड ७५ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा आपूर्तिकर्ताले १२ करोड ५५ लाखमा ठेक्का कबोल गरेको थियो। तर, उत्पादक कम्पनीलाई भने जम्मा ६ करोड ८५ लाख मात्र भुक्तानी भएको पुष्टि भएको अख्तियारले जनाएको छ।

























