
काठमाडौँ। महाशिवरात्रीको शुभ अवसर पारेर आइतबार राजधानीमा नयाँ नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’ को औपचारिक निर्माण घोषणा गरिएको छ। यो चलचित्रमार्फत प्रभावशाली अभिनेत्री रेखा थापा झण्डै आठ वर्षको अन्तरालपछि पुनः निर्देशनमा फर्किएकी छन्। ‘हिम्मतवाली’ र ‘मालिका’ पछि रेखाको यो तेस्रो निर्देशकीय प्रयास हो।
यसपटक रेखाले आफ्नै ब्यानर बाहिर गएर ‘दिया एण्ड अमु फिल्मस्’ को लागि निर्देशन गर्न लागेकी हुन्। नेपाली चलचित्र इतिहासमा स्थापित महिला निर्देशकले बाहिरी ब्यानरमा काम गर्न लागेको यो सम्भवतः पहिलो पटक हो।
चलचित्रमा कलाकारहरूको जम्बो टोली रहनेछ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठका साथै तीन पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा देखिनेछन्। निर्माण पक्षले सार्वजनिक गरेको दुईवटा पोस्टरले चलचित्रमा प्रेमका विभिन्न पाटा र पारिवारिक सम्बन्धको कथा रहेको संकेत गर्छ। एउटा पोस्टरमा तीन अभिनेत्री र दिल श्रेष्ठको प्रेम त्रिकोण झल्किएको छ भने अर्कोमा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठबीचको बाबु–छोराको भावुक सम्बन्ध देखाइएको छ।
निर्देशक रेखा थापाले यो चलचित्र समाजकै भोगाइ र मानिसहरूकै कथामा आधारित रहेको बताएकी छन्। उनले तीन पूर्व मिस नेपालहरूलाई ट्यागका आधारमा नभई कथाको मागअनुसार छनोट गरिएको स्पष्ट पारिन्। त्यस्तै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखाको निर्देशनमा काम गर्न पाउनु आफ्ना लागि नयाँ अनुभव हुने बताए।
चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी लगायतको पनि अभिनय रहनेछ। हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रको छायाङ्कन फागुनको दोस्रो साताबाट सुरु हुनेछ। निर्माण टोलीले आगामी वर्षको तीजलाई प्रदर्शन मिति लक्ष्य गरेको छ।



















