मोरङ– १ मा घनश्याम खतिवडा : ६३ वर्षको उमेरमा ३६ को जोस

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार ०९:३७

उर्लाबारी । आगामी निर्वाचनको मिति नजिकिएसँगै मोरङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम खतिवडा चोकचोक एवं बस्तीबस्तीमा पुगेर मतदाता फकाउन व्यस्त छन् ।

घरदैलो एवं भेटघाट अभियानमार्फत खतिवडाले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । पछिल्लो समय राजनीतिमा युवा नेतृत्वको बहस चलिरहेका बेला खतिवडाले आफू ६३ वर्षको भए पनि युवाकै जोसका साथ मैदानमा उत्रिएको बताएका छन् । ‘म ६३ वर्ष पुगेँ, तर मेरो जोस र जाँगर ३६ वर्षको युवाको जस्तै छ,’ मुलुकी खबरसँग उनले भने, ‘युवा भन्ने कुरा उमेरको हिसाबले मात्र हुँदैन । यो त भावना र कर्मको कुरा हो । म ६३ लाई उल्ट्याएर ३६ को ‘स्पिरिट’मा काम गरिरहेको छु ।’

भदौ २३ र २४ को जेनजी विद्रोह हुँदा एमाले सत्तामा थियो । आन्दोलनकै बलमा राजनीतिमा उदाएका युवा पुस्ताले एमालेसहित पुराना दलप्रति आक्रोश व्यक्त गरिरहेका छन् । बाहिर वितृष्णाजस्तो देखिए पनि घनश्यामको घरदैलोमा वितृष्णा देखिँदैन । खतिवडा आफूलाई मतदाताले उत्साहजनक रूपमा स्वागत गरिरहेको बताउँछन् ।

शालीन, भद्र र नरम शैलीका खतिवडा एमाले कोशी प्रदेशका अध्यक्ष पनि हुन् । राजनीतिक जीवनमा हालसम्म कुनै कलंक नबेहोरेका उनी वैचारिक नेताका रूपमा परिचित छन् । आफ्नो राजनीतिक जीवनमा कुनै कलंक नभएकाले जनताको बीचमा जान असहज नभएको उनको तर्क छ ।

‘भ्रष्टाचारी र गलत काम गर्नेहरू डराउलान् । तर, म गाविस अध्यक्ष हुँदादेखि अहिलेसम्म निष्ठाको राजनीति गरिरहेको छु । म राजनीतिक इमान र आदर्श बोकेर हिँडेको मान्छे हुँ । त्यसैले मलाई चोकचोक एवं बस्तीबस्तीमा फूलमाला र अबिरले स्वागत भइरहेको छ,’ खतिवडाले भने ।

उनको भनाइ यथार्थ पनि छ । किनभने खतिवडाको कुनै राजनीतिक कार्यक्रम एवं चुनावी अभियानमा कसैले अवरोध पुर्याएको छैन । जहाँ पुगे पनि मतदाताबाट घेरिन्छन् । फूलमालाले स्वागत एवं सम्मान पाउँछन् । एमालेप्रति घृणा फैलाएर गलत प्रचार भइरहेको भन्दै खतिवडा खुलेर प्रतिवाद गर्छन् ।

खतिवडाले आफू सांसद भएर जाँदा मोरङ– १ का जनताको समस्या र आवश्यकतालाई संसद्‌को रोस्टममा बुलन्द पार्ने बाचा गरेका छन् । २०७४ सालमा निर्वाचित चएपछि सुरु गरेका आयोजनालाई पूर्णता दिने बताइरहेका छन् । पार्टीले आफ्नो कामको मूल्यांकन गरेरै तेस्रोपटक टिकट दिएको उल्लेख गर्दै उनले कार्यकर्ता र जनताको पूर्ण समर्थन रहेको बताए ।

मुख्य प्रतिस्पर्धी कांग्रेस

आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसलाई देखेका खतिवडा निर्वाचनलाई स्वस्थ र निष्पक्ष बनाउनुपर्ने बताउँछन् । ‘हामी मैत्रीपूर्ण म्याच खेल्न चाहन्छौँ । व्यक्तिगत गालीगलौजमा विश्वास गर्दैनौँ,’ उनले भने, ‘हामी कसैलाई झापड हान्दैनौँ । तर, नेकपा एमालेमाथि जाइलाग्नेलाई हातमा दही जमाएर हेरेर पनि बस्दैनौँ ।’

कुनै पनि दल एवं उम्मेदवारको राजनीतिक कार्यक्रम, अभियान र गतिविधिमा कोही कसैले अवरोध गर्न हुँदैन भन्ने उनको स्पष्ट सन्देश हो । खतिवडा कोही कसैलाई अवरोध गर्दा अर्को पक्ष पनि ‘चुप लागेर बस्दैन’ है भन्ने बुझ्न जरुरी रहेको सन्देश प्रवाह गर्छन् । चुनाव प्रचारका क्रममा उनले अरु कोही पनि उम्मेदवार र नेताको आलोचना गरेका छैनन् । आफ्ना एजेन्डा मतदातामाझ राखिरहेका छन् ।

मोरङ– १ मा खतिवडाको घरदैलोले एमाले पंक्तिमा उत्साह थपेको छ । २०७४ सालको निर्वाचनमा विजयी भएर २०७९ सालको निर्वाचनमा पराजित भएका खतिवडा पुनः अनुमोदित हुनेमा आसावादी रहेको बताउँछन् । उनी भन्छन्, ‘म सांसद हुँदा गरेका विकास र नहुँदा जनताको व्यक्तिगत जीवनमा पुर्‍याएको सहयोग नै मेरो जितको बलियो आधार हो ।’

एमाले उर्लाबारी नगरपालिका– ४ का अध्यक्ष प्रदीप बस्नेत पार्टीले घरदैलो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताउँछन् । ‘वडा तहको घरदैलोपछि नगर तहको चुनावी अभियानमा छौं,’ उनले भने,‘ एमालेको एजेण्डा र उम्मेदवार बोकेर घरदैलोमा गइरहेका छौं ।’

एमाले उम्मेदवारलाई विजयी गराउनका लागि पार्टीको सबै तह निर्वाचनमा होमिएको जानकारी बस्नेतले दिए । मतदाता पनि उम्मेदवारप्रति उत्साहित रहेको उनको भनाइ छ । एमाले उम्मेदवार खतिवडालाई चुनाव जिताउन अध्यक्ष बस्नेतजस्तै अरु नेता कार्यकर्ता अहोरात्र खटिएका छन् ।

एमालेले आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेसलाई मानेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसबाट खड्ग फागो उम्मेदवार छन् । फागो उर्लाबारी नगरपालिकाका पूर्वमेयर हुन् । मेयरमा आफू पूर्णरूपले सफल भएको दाबी गर्ने फागो अब प्रतिनिधिसभा पुग्ने दौडमा छन् ।

यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कुलप्रसाद साम्बा (कुशल), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट यज्ञमणि न्यौपाने, श्रम संस्कृति पार्टीबाट शान्ति लामालगायत उम्मेदवार चुनावी मैदानमा छन् । मोरङको उर्लाबारी र लेटाङ नगरपालिका एवं मिक्लाजुङ र केराबारी गाउँपालिका समेटिएको क्षेत्र नम्बर १ मा उम्मेदवारहरू आआफ्नो एजेन्डा लिएर मतदातामाझ पुगिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.