
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा निकायले १२ वटा समूहमाथि निगरानी बढाएको छ । आगामी निर्वाचनका लागि १२ वटा समूहलाई ‘सुरक्षा थ्रेट’ का रूपमा पहिचान गर्दै निगरानी बढाएको हो ।
सुरक्षा निकायको निगरानीमा दुर्गा प्रसाईंको समूह, पूर्वराजा ज्ञानेन्द्र शाह निकट शाही युवा शक्ति, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) रहेका छन् । वैज्ञानिक समाजवादी, पहिचानवादी र रोहिंग्या शरणार्थीलाई समेत सुरक्षा जोखिमको सूचीमा राखिएको छ ।
निर्वाचन सुरक्षाका लागि प्रहरीले एसएसपी दयानिधि ज्ञवालीको कमान्डमा विशेष विश्लेषण महाशाखा गठन गरेको छ ।
हालसम्म निर्वाचन बिथोल्न खोज्ने १६ जना हिरासतमा छन्। विगतका निर्वाचन बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपा यसपटक भने निर्वाचनमा सहभागी भएको छ । सुरक्षा निकायले यी समूहहरूबाट चुनौती रहे पनि निर्वाचन नै बिथोल्न सक्ने हैसियत उनीहरूको नरहेको विश्लेषण गरेको छ ।

























