
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन आउन अब एक साता मात्र बाँकी रहेको संवेदनशील समयमा देउवा विदेश उडेका हुन्।
सुरक्षा स्रोतका अनुसार उनी राति पौने १२ बजे आफ्ना सहयोगी भानु देउवासहित सिंगापुरतर्फ लागेका हुन्। देउवा निकट स्रोतले उनी नियमित स्वास्थ्य उपचारका लागि त्यसतर्फ गएको दाबी गरेको छ।
यसअघि गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परी उनी घाइते भएका थिए। सोही चोटको उपचारका लागि देउवा यसअघि पनि सिंगापुर गएका थिए। निर्वाचनको सरगर्मी बढिरहेका बेला मुख्य दलका शीर्ष नेता उपचारका लागि विदेश जानुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

























