
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले अतिसंवेदनशील निर्वाचन क्षेत्रहरूमा ‘विशेष कमाण्ड’ बनाएर उच्च तहका अधिकृत परिचालन गरेको छ।
‘हेभिवेट’ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने जिल्लाहरूमा सुरक्षा व्यवस्था कडा पार्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई जिम्मेवारी सुम्पिएको छ।
विशेष गरी झापा, इलाम, सर्लाही, रौतहट, दोलखा, काभ्रे, सिन्धुपाल्चोक र रुपन्देही लगायतका ३१ जिल्लामा एसएसपीहरूले सुरक्षा समन्वय गर्नेछन्। झापा र इलामको सुरक्षा कमाण्ड एसएसपी गोविन्द अधिकारीले सम्हालेका छन् भने सर्लाही र रौतहटमा एसएसपी सुरेश काफ्ले खटिएका छन्।
दोलखामा नान्तिराज गुरुङ र कास्की तथा स्याङ्जामा जनार्दन जिसीलाई परिचालन गरिएको छ। प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेका अनुसार तराईका जिल्लाहरूमा सुरक्षा चुनौती बढी देखिएकाले एसएसपी र पहाडी जिल्लाहरूमा एसपीहरूलाई थप मद्दतका लागि खटाइएको हो।
सबैभन्दा चुनौतीपूर्ण जिल्लाको रूपमा झापालाई लिइएको छ। झापा–५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धाका कारण त्यहाँको सुरक्षा व्यवस्था विशेष बनाइएको छ। झापा–५ को मात्रै सुरक्षा हेर्न एसपी रुकेश तन्डुकारलाई खटाइएको छ भने जिल्लाभर ९ सय अतिरिक्त प्रहरी र २३ जना सिनियर अधिकृत परिचालन गरिएको छ।
काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई पनि चुस्त बनाउन १५ वटै निर्वाचन क्षेत्रमा एक–एक जना एसपीलाई नेतृत्व दिइएको छ। उपत्यकामा सुरक्षा अनुगमनका लागि एसएसपीहरू रमेश बस्नेत, सोमेन्द्र सिंह राठौर, नवराज अधिकारी, सन्तोष खड्का र प्रवीण धिताललाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

























