
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार तथा उनीहरूका एकाघरका परिवार सदस्यहरूको बैंक खातामाथि निगरानी सुरु गरेको छ। निर्वाचन खर्च अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्थालाई बेवास्ता गर्दै अधिकांश उम्मेदवारले बैंक बाहिरबाटै खर्च गरेको पाइएपछि आयोगले यस्तो कदम चालेको हो।
निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन आयोगले आचारसंहितामै बैंक खातामार्फत मात्र खर्च गर्नुपर्ने प्रावधान राखेको थियो। राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक सचेत गराइए पनि अपेक्षित पालना नभएपछि प्रचारप्रसार अवधिभर उम्मेदवारसँगै उनीहरूको परिवारका सदस्यहरूको बैंक कारोबारसमेत निगरानीमा राखिएको जनाइएको छ।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंकिङ प्रणाली बाहिरबाट खर्च गर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। उनले उम्मेदवारको चुनावी खर्चको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत भइरहेको जानकारी दिए।
आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आह्वानसमेत गरेका छन्।

























