
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित आचारसंहिता उल्लंघनका उजुरीमाथि छानबिन एवं कारबाही तीव्र गतिमा भइरहेको जनाएको छ ।
आयोगले देशभरका सबै १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट परेको उजुरीमध्ये एक हजारभन्दा बढीको कारबाही भइसकेको जानकारी दिँदै बाँकी उजुरीहरू पनि निर्वाचनको अघिल्लो दिनभित्र टुंग्याउने तयारी गरेको स्पष्ट पारेको छ । फागुन २१ गते निर्वाचन हुँदैछ । परेका सबै उजुरीको निर्णय २० गतेभित्रमा गरिसक्ने आयोगको तयारी छ ।
शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनका विषयमा आयोग कठोर र सजग रहेको बताएका छन् । उनका अनुसार आयोगमा प्राप्त प्रतिवेदनले १६५ वटै निर्वाचन क्षेत्रमा गरी एक हजारभन्दा बढी कारबाही गरिएको देखाएको छ ।
त्यसको अतिरिक्त कसैले आचारसंहिता उल्लंघन गर्यो भने उसलाई स्पष्टीकरण सोधेर त्यसको फाइल विश्लेषण गरेर निर्णय गरिने उनको भनाइ छ । उनले उजुरी प्राप्त भएलगत्तै सम्बन्धित पक्षसँग स्पष्टीकरण माग्ने, प्रमाण संकलन गर्ने र त्यसको समग्र विश्लेषणपछि निर्णय लिने प्रक्रिया अपनाइएको बताए ।
आयोगका अनुसार निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा जरिबाना गर्ने, चेतावनी दिने, स्पष्टीकरण सोध्ने, प्रचार सामग्री हटाउन निर्देशन दिने लगायतका सजायमुखी निर्णयहरू गरिएको छ । भण्डारीले आचारसंहिता उल्लंघनलाई सामान्य रूपमा नलिइने स्पष्ट गर्दै कानुनअनुसार कडाइका साथ निर्णय भइरहेको बताए ।
उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको उल्लेख गरे । ‘निर्वाचन हुनुपूर्व जति पनि उजुरी परेको छ, २० गतेभित्र हामी निर्णय गरिसक्छौँ,’ उनले भने । मतदान हुनुअघि सबै उजुरी टुंग्याएर निर्वाचन प्रक्रियालाई विवादरहित बनाउने लक्ष्य आयोगको छ ।
आयोगले निर्वाचन अवधिभर प्राप्त हुने उजुरीहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी छिटोछरितो निर्णय प्रक्रिया अघि बढाएको जनाएको छ । प्रदेश तथा जिल्ला तहका निर्वाचन कार्यालयहरूबाट प्राप्त विवरणहरू केन्द्रमा संकलन गरी समन्वयात्मक रूपमा कारबाही भइरहेको आयोगको भनाइ छ ।
राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पदधारण गरेका व्यक्तिहरू तथा सरकारी संयन्त्रबाट आचारसंहिता उल्लंघन भएको उजुरीहरू आयोगमा परेका छन् । विशेषगरी प्रचारप्रसारका क्रममा सरकारी स्रोत साधनको प्रयोग, मतदातालाई प्रभाव पार्ने अभिव्यक्ति, अनुमति बिना सभा रजुलुस, आचारसंहिता विपरीत प्रचार सामग्री प्रयोगजस्ता विषयमा उजुरीहरू दर्ता भएका छन् ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न पुनः आग्रह गर्दै उल्लंघन भए तत्काल कारबाही हुने चेतावनी पनि दिएका छन् । उनले आयोग कुनै पक्षप्रति नरम वा कठोर नभई कानुन र प्रमाणका आधारमा निर्णय गर्ने संस्थागत अभ्यासमा रहेको बताए ।
निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले उजुरी व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । निर्वाचन प्रक्रियालाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन प्रतिबद्ध रहेको सन्देश आयोगले दिएको छ ।

























