
काठमाडौँ। मध्यपूर्वमा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त सैन्य कारबाही सुरु गरेपछि बढेको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।
शनिबार सुरक्षा निर्देशिका (एडभाइजरी) जारी गर्दै दूतावासले विकसित घटनाक्रमलाई सूक्ष्म रूपमा नियालिरहेको र नेपालीहरूको सुरक्षाप्रति गम्भीर रहेको जनाएको छ।
दूतावासले इजरायली सुरक्षा निकाय र ‘होम फ्रन्ट कमान्ड’ले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न सबैमा अपिल गरेको छ। नेपाली नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, चनाखो रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थान वा तोकिएका बङ्कर (सेल्टर) हरूको नजिकै रहन सुझाइएको छ।
साथै, इजरायली निकायको पूर्वस्वीकृतिबिना कुनै पनि प्रकारको यात्रा नगर्न र स्थानीय समाचार तथा आधिकारिक सूचनाहरूको निरन्तर निगरानी गर्न पनि दूतावासले निर्देशन दिएको छ।
इरानमाथिको हमलापछि मध्यपूर्वका विभिन्न देशहरूमा त्यसको प्रत्यक्ष असर परिरहेको छ। यस्तो अवस्थामा नेपाली समुदायलाई एक-अर्काको सम्पर्कमा रहन र कुनै पनि आपतकालीन परिस्थितिमा दूतावाससँग समन्वय गर्न भनिएको छ।

























