
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मतदातालाई नगद वितरण गरेको आरोपमा प्रहरीले मोरङको रतुवामाईबाट नेपाली कांग्रेस आबद्ध तीन जनालाई नियन्त्रणमा लिएको छ ।
निर्वाचनलाई लक्षित गरेर मतदाता प्रभावित पार्न पैसा वितरण भइरहेको सूचना पाउनसाथ वास्तविकता बुझ्न इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोली परिचालन भएको थियो । त्यस क्रममा प्रहरीले कांग्रेसका तीन जनालाई नियन्त्रणमा लिँदै एउटा गाडी र करिब साढे चार लाख रूपैयाँ बरामद गरेको छ ।
तर, प्रहरीले भने घटनालाई सामान्य भन्दै कसैलाई पनि नियन्त्रणमा नलिइएको दाबी गरेको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले सामान्य सोधपुछ र चेकजाँच गरेर छाडिएको दाबी गरे । ‘आचारसंहिताविपरीतको गतिविधि भएको सूचना आएपछि प्रहरी पुगेको हो । सबै कुरा बुझेर सामान्य सोधपुछ गर्दै उनीहरुलाई पठाइसकिएको छ । कोही पनि प्रहरीको नियन्त्रणमा छैनन्,’ उनले भने ।
तर, रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवा प्रहरीको नियन्त्रणमा छन् । घिमिरे कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव तथा लिम्बू कांग्रेसको महाधिवेशन प्रतिनिधि र नेपाली पार्टीको क्रियाशील सदस्य रहेको प्रहरी स्रोतले जनाएको छ ।
उनीहरुलाई रतुवामाई–७ जामवाढीबाट शनिबार राति ९ः३० बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचनलाई लक्षित गरी स्थानीय मतदातालाई रकम बाँडिरहेको भन्ने सूचना आएपछि प्रहरी सक्रिय बनेको थियो ।
प्रहरीले को १ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्दा गाडीभित्र ४ लाख ४९ हजार रूपैयाँ नगद, कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमुना मतपत्रसमेत फेला परेको परेको थियो । बरामद नगद, प्रचार सामग्री र सवारीसाधनसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको स्रोतले बतायो ।
प्रहरीको नियन्त्रणमा रहेकाहरु आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले रकम वितरणमा हिँडेको हुनसक्ने अनुमान छ । बरामद रकमको स्रोत, ओसारपसारको उद्देश्य र संलग्न व्यक्तिहरू बीचका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार निर्वाचन आचारसंहिताविपरीतका गतिविधि भए–नभएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले सम्बन्धित निकायसँग समन्वय गरेर कारबाहीको आवश्यक प्रक्रिया अघि बढाउने वा नबढाउने भन्ने निर्णय लिने छ । स्थानीयका अनुसार निर्वाचन नजिकिँदै जाँदा रातिको समयमा गाडी आवतजावत बढेको थियो । केही व्यक्तिहरू घरघरमा पुगेर मत माग्ने नाममा आर्थिक प्रलोभन दिन खोजेको चर्चा चलेसँगै स्थानीय सक्रिय भएका थिए ।
मतदातालाई प्रभावित पार्ने र निर्वाचन आचारसंहिताविपरीतका गतिविधि गर्नेका बारेमा कुनै सूचना भएमा तत्काल जानकारी गराउन प्रहरीले सबैमा अनुरोध गरेको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
तर, निर्वाचन आचारसंहिता उल्लंघनको यस घटनालाई भने प्रहरीले सार्वजनिक गर्न नचाहेको देखिन्छ । जिल्ला प्रहरीका सूचना अधिकारी एवं डीएसपी चौधरीले कसैलाई पनि नियन्त्रणमा नलिइएको र सामान्य सोधपुछ गरेर छाडिएको दाबी गरे । चौधरीले यसो भनिरहँदा कांग्रेसका तीन जनालाई भने इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा राखिएको छ ।
रतुवामाई मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल, नेकपा (एमाले)का दिलिप बगडिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कृष्णकुमार कार्कीलगायत उम्मेदवार छन् ।


















