
विराटनगर । विराटनगरबाट सुनसरीको चिमडीतर्फ जाँदै गरेको ट्रकले तीन जना सवार मोटरसाइकललाई ठक्कर दिँदा एक जना किशोरको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार हुलाकी राजमार्गअन्तर्गत सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा आइतबार साँझ ७ः३० बजेतिर दुर्घटना भएको हो । विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको ना ६ ख २२५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार सुनसरीको इनरुवा नगरपालिका–१० का १६ वर्षीय कुन्दन पौदारको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका पौदारलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
मोटरसाइकलमा सवार इनरुवा–१० का अन्दाजी ४५ वर्षीय महानन्द पौदार र अन्दाजी २० वर्षीय सन्तोष मेहता घाइते भएका छन् । घाइतेमध्ये महानन्दको अवस्था गम्भीर छ । दुवै घाइतेको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा परेका बेला मोटरसाइकल कसले चलाएको थियो भन्ने यकिन भइसकेको छैन । प्रहरीले ट्रक र चालक सप्तरीको तिरहुत गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय विनोदकुमार मेहतालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार तीन जना सवार मोटरसाइकलको तीव्र गति तथा ट्रक चालकको असावधानीका कारण दुर्घटना भएको पाइएको छ । मोटरसाइकलमा तीन जना यात्रा गर्न नपाइने कानुनी व्यवस्था छ ।

























