
काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा धमाधम कर्मचारी र सुरक्षाकर्मी खटाउने काम भइरहेको छ ।
निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीलाई आआफ्नो केन्द्रमा पुगिसक्न परिपत्र जारी गरेको छ । आयोगका अनुसार, दुर्गम तथा विकट भेगका अधिकांश केन्द्रमा केही दिनअघिदेखि नै कर्मचारी र सुरक्षाकर्मी परिचालित भइसकेका छन् । यातायात सुविधा पुगेका स्थानमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्नेछन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार बेलुकासम्म देशभरका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीको उपस्थिति सुनिश्चित गर्न निर्देशन दिइसकिएको बताए । उनका अनुसार मतदान अधिकृतसहितको टोली केन्द्रमा पुगेपछि तत्कालै केही अनिवार्य प्रक्रिया सुरु गर्नुपर्नेछ ।
‘निर्वाचन सामग्री सुरक्षित रुपमा केन्द्रमा पुर्याएर चारकिल्ला तोकिएको सूचना टाँस्ने, सर्वपक्षीय बैठक बोलाउने र तयारीका अन्य काम थाल्ने जिम्मेवारी मतदान अधिकृतको हुन्छ,’ उनले भने । देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सम्बन्धित मतदान अधिकृतले सुरक्षाकर्मीको उपस्थितिमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री बुझ्ने व्यवस्था गरिएको छ ।
ती सामग्रीको सुरक्षा जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । निर्वाचन आयोग र प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मीलाई मतदान अधिकृत तथा सिलबन्दी गरिएका मतपत्र र अन्य सामग्रीलाई २४ सै घण्टा निगरानीमा राख्न स्पष्ट निर्देशन दिएका छन् । मतदान प्रक्रिया सम्पन्न नहुन्जेल कर्मचारी र सुरक्षाकर्मी एकै टोलीका रूपमा केन्द्रमा रहनेछन् ।
आयोगका अनुसार आइतबारसम्म सडक सुविधा नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका दुई सयभन्दा बढी विकट मतदान केन्द्रमा कर्मचारी पुगिसकेका थिए । सदरमुकामबाट टाढा रहेका करिब तीन सय केन्द्रमा सुरक्षाकर्मीसहितको टोली परिचालित भइसकेको प्रतिवेदन आयोगलाई प्राप्त भएको छ । सहरी क्षेत्र र तराईका मतदान केन्द्रमा भने सोमबार अपराह्नसम्म सबै कर्मचारी पुगिसक्ने अपेक्षा गरिएको छ ।
मतदान केन्द्र निर्धारण कार्यविधि अनुसार प्रत्येक स्थानीय तहको हरेक वडामा कम्तीमा एउटा मतदान केन्द्र अनिवार्य गरिएको छ । मतदाताको संख्या र भौगोलिक दूरीका आधारमा आवश्यक परे एकभन्दा बढी केन्द्र तोकिने व्यवस्था छ ।
एउटा मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता नराख्ने प्रावधान लागू गरिएको छ । यदि कुनै स्थानमा मतदाताको संख्या बढी भएमा एउटै मतदान स्थलभित्र क, ख, ग गरी फरकफरक केन्द्र कायम गरिन्छ । तर, एकै स्थानमा सातभन्दा बढी मतदान केन्द्र राख्न नमिल्ने निर्देशिकामा स्पष्ट व्यवस्था छ ।
मतदान अधिकृतले केन्द्रमा पुग्नेबित्तिकै चारकिल्ला तोकिएको सूचना सबैले देख्ने गरी टाँस्नुपर्नेछ । त्यसपछि सकेसम्म छिटो सर्वपक्षीय बैठक बोलाएर निर्वाचनको आचारसंहिता, मतदान प्रक्रिया र सुरक्षासम्बन्धी प्रावधानबारे जानकारी गराइनेछ । प्रचारप्रसार निषेधित अवधि सुरु भएको सूचना पनि मतदान केन्द्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।
तयारीका क्रममा मतदान कक्ष व्यवस्थापन, मतपेटिकाको जाँच, आवश्यक कागजी प्रक्रिया तथा मुचुल्का तयार पार्ने काम गरिनेछ । मतदान सुरु भएदेखि सम्पन्न नहुन्जेल पटकपटक सर्वपक्षीय बैठक राखेर प्रक्रिया पारदर्शी बनाइनेछ । मतदान सम्पन्न भएपछि सबै दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिलबन्दी गरी मुचुल्का तयार गरिनेछ । त्यसपछि मतदान अधिकृतले मतपेटिका र सम्बन्धित सामग्री निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनेछन् ।
निर्वाचन सामग्री सुरक्षित रूपमा बुझेर मतदान सम्पन्न गराई मतपेटिका सम्बन्धित कार्यालयमा हस्तान्तरण गरेपछि मात्रै मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने आयोगका प्रवक्ता भट्टराईले बताए । उनका अनुसार मतदानको सम्पूर्ण प्रक्रिया कानुनी दायराभित्र रहेर पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै निकाय समन्वयका साथ परिचालित भएका छन् ।

























