
सिराहा। सिराहाको गोलबजारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना युवकको मृत्यु भएको छ भने १ किशोर गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति यो दुर्घटना भएको हो।
मृत्यु हुनेहरूमा धनगढीमाई नगरपालिका–८ कसहाका ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन राय रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार दुर्घटनामा परी सोही ठाउँका १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्। उनको अहिले विराटनगरमा उपचार भइरहेको छ।
गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस एकापसमा ठोक्किएका थिए। दुर्घटनालगत्तै घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर सुधन केसीले जानकारी दिए।
प्रहरीका अनुसार मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए। मृतकहरूको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

























