
विराटनगर । विराटनगर महानगरपालिका-७ डाँफे चाेकमा मंगलबार बिहान भेटिएको शंकास्पद बस्तुले बजारमा त्रास सृजना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय माेरङ अगाडिकाे चाेकमा भेटिएको वस्तु बम जस्ताे देखिएपछि जनजीवन त्रसित बनेको थियाे । तर, उक्त शंकास्पद वस्तु पूजाआजा गरेर मन्साएकाे माटाेकाे भाँडाे रहेको पत्ता लागेको छ ।
वडा प्रहरी कार्यालय विराटनगरकाे टाेली गस्ती गर्दै जाने क्रममा बिहानका राति २ बजेतिर कालो प्लाष्टिकमा पोको पारेर राखिएकाे अवस्थामा शंकास्पद वस्तु फेला पारेको थियाे । त्यसलगत्तै पुगेको डीएसपी अनमाेल खड्का नेतृत्वकाे टाेलीले वरपर कडाइ गरेर मानिस तथा सवारीसाधन आवतजावतमा राेक लगाउँदै घटनास्थललाई सुरक्षित राख्याे । सिसी क्यामेरामा हेर्दा स्कुटरमा आएका व्यक्तिले राखेकाे देखियाे ।
घटना शंकास्पद देखिएपछि वस्तु निष्क्रिय पार्न नेपाली सेनाकाे सूर्यदल गण थलाहामा खबर गरियाे । सेनाकाे टाेली घटनास्थल पुगेर निष्क्रिय पार्दा उक्त वस्तु बम नभई पूजाआजा गरेर मन्साएकाे माटाेकाे सानाे हाँडी रहेको स्पष्ट भएको माेरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार उक्त हाँडीभित्र पूजा गर्दा मन्साएका खरानीलगायतका वस्तुहरु फेला परेको थियाे ।
उक्त वस्तु बिहान ७ बजेतिर सेनाले डिस्पाेज गरेको हाे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मौन अवधि सुरु भइसकेपछि फेला परेकाे शंकास्पद वस्तुका कारण निक्कै बेर त्रास सिर्जना भएको थियाे । चुनावी सुरक्षामा केन्द्रित हुनुपर्ने प्रहरीलगायतका सुरक्षा निकायलाई पनि व्यस्त बनायाे ।
चुनावकाे मुखमा रातिकाे समय व्यस्त बजारमा शंकास्पद झाेला राख्ने व्यक्तिकाे खाेजी एसपी कटवालले बताए ।
एसपी कटवालले चुनाव लक्षित सुरक्षा व्यवस्था कडा पारिएको बताए । चुनाव विराेधी कुनै गतिविधि भएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न सबैमा उनकाे आग्रह छ ।

























