
रौतहट । फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारका क्रममा रौतहटमा आम जनता पार्टी (आजपा) का समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ। सोमबार साँझ रौतहट–३ स्थित गुजरा नगरपालिका–६ बेदौली गाउँमा घरदैलो कार्यक्रम भइरहेका बेला भएको उक्त आक्रमणमा मन्सुरीको नाकको हड्डी टुटेको छ।
आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह सहभागी घरदैलो कार्यक्रममा विपक्षी दलका कार्यकर्ताहरूले डिजे बजाएर अवरोध पुऱ्याउन खोजेपछि विवाद सुरु भएको थियो। कार्यक्रम बिथोल्न खोज्ने समूहलाई सम्झाउन जाँदा एक अपरिचित युवकले टाढैबाट लौरोले प्रहार गर्दा मन्सुरी घाइते भएका हुन्। घाइते मन्सुरीको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचारपछि हाल घरमै आराम गरिरहेका छन्।
आक्रमणमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय कार्यकर्ताहरूको संलग्नता रहेको मन्सुरीले आरोप लगाएका छन्। घटना लगत्तै प्रहरी टोली पुगेपछि आक्रमणकारीहरू फरार भएका थिए। मन्सुरीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै दोषीको खोजी र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

























