
काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भोलि बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्। निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले नागरिकहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन्।
गत भदौ २३ र २४ गते भएको युवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन लागेको उनले बताए। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यो निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गरे। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे।
निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित हुने वातावरण बनाउन आयोग दृढ रहेको भण्डारीले बताए। मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवैका रूपमा चर्चा गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठुलो अनुष्ठान भएको उल्लेख गरे। सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व बढाउने उनको भनाइ छ।
प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला नै निर्वाचन भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता दिने उनले बताए। आयोगले निर्वाचन व्यवस्थापनका लागि राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चारकर्मी लगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगले आफूहरूलाई थप ऊर्जा मिलेको जनाएको छ। भोलि आ–आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न कार्यवाहक प्रमुख आयुक्तले सबैमा आग्रह गरे।

























