
विराटनगर । कोशी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनको बिहीबार हुने मतदान सम्पन्न गर्नका लागि साढे २५ हजार जनाभन्दा बढी कर्मचारी परिचालन गरिएको छ ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक र सहयोगी गरेर २५ हजार ७ सय ६४ जना कर्मचारी परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार कोशी प्रदेशमा १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र छन् ।
अस्थायी मतदानका लागि २४ वटा केन्द्र तोकिएको छ । अस्थायी मतदान केन्द्र स्थापना गरेर कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका विशेष परिस्थितिका मतदातालाई मतदानको अवसर सुनिश्चित गरिएको हो ।
स्थायी र अस्थायी गरेर मतदान केन्द्र ४ हजार २ सय ९४ छन् । प्रत्येकमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी गरेर १–१ जना तथा सहायक कर्मचारी ३ जना परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले बताए ।
उनका अनुसार केन्द्रमा अधिकृत र सहायक अधिकृत ८ हजार ५ सय ८८ जना खटाइएको छ । सहायक कर्मचारी १२ हजार ८ सय ८२ र सहयोगी कर्मचारी ४ हजार २ सय ९४ जना खटिएका छन् ।
निर्वाचनसँग सम्बन्धित काम कारबाहीकाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत १४–१४ तथा सहायक निर्वाचन अधिकृत २८ जना यसअघि नै नियुक्त गरिएको थियो । सबै मतदानस्थल र केन्द्रमा आवश्यक सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् ।
१४ जिल्ला रहेको कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन् । ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रदेशमा निर्वाचनको सबै तयारी पूरा भएको दंगालले बताए । मतदान केन्द्र निर्माण र आवश्यक व्यवस्थापनको कार्य पूरा भइसकेकाले बिहीबार बिहानैबाट मतदान प्रक्रिया सुरु हुने उनको भनाइ छ ।
निर्वाचनको लागि आवश्यक मतपेटिका, मतपत्र, कर्मचारी तथा सुरक्षाकर्मी परिचालन र मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको काम मंगलबार नै सकिएको थियो । सबै मतदाताले सुरक्षित र व्यवस्थित वातावरणमा मतदान गर्न पाउने वातावरण बनेको दंगालले बताए ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यले सुरक्षा निकायले विशेष रणनीति अपनाउँदै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएको छ । कोशीका मतदानस्थलमध्ये सुरक्षाको दृष्टिकोणले ४ सय ३९ ‘अतिसंवेदनशील’, ८ सय २१ ‘संवेदनशील’ र ६ सय ४७ वटालाई ‘सामान्य’ भनेर वर्गीकरण गरिएको छ ।
सुरक्षा सुदृढ गर्न नेपाली सेनाले पनि सक्रिय भूमिका खेलिरहेको छ । सबै जिल्लाका १ सय २० स्थानमा सेनाको बम डिस्पोजल टोली तैनाथ गरिएको छ । सेनाले सम्भावित विस्फोटक पदार्थ, शंकास्पद वस्तु तथा गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।
मतदानको सुरक्षा व्यवस्था मिलाउन र भयरहित हिसाबले मतदान गर्ने वातावरण बनाउन संयुक्त सुरक्षा गस्ती, चेकजाँच र निगरानीलाई बढाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताए । कोशीमा ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य छन् ।

सबै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार भइसकेका छन् । तारजाली लगाएर व्यवस्थित र सुरक्षित हिसाबले मतगणनास्थल तयार पारिएको हो । बिहीबार मतदानपछि मतगणना सुरु गर्ने तयारी छ ।
डीआईजी घिमिरेले कुनै पनि डर र त्रार बिना मतदाताले निर्धक्क भएर सुरक्षितसाथ मतदान गर्ने वातावरण बनाइएको जानकारी दिए । प्रशासन, सुरक्षालगायत व्यवस्थापनसँग सम्बन्धित सबै तयारी पूरा भइसकेकाले मतदातालाई मतदानमा कुनै समस्या नहुने उनले बताए ।

























