
विराटनगर । चुनावी सुरक्षाको दृष्टिकोणले मोरङको निर्वाचन क्षेत्र नम्बर ५ सबैभन्दा बढी संवेदनशील देखिएको छ ।
मोरङ–५ भारतसँग सीमा जोडिएको निर्वाचन क्षेत्र हो । सुरक्षा विश्लेषणका आधारमा खुला सीमा, विगतका घटना, मतदाताको संख्या, राजनीतिक गतिविधि तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर मतदानस्थल एवं केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।
उक्त वर्गीकरण अनुसार मोरङ–५ मा अतिसंवेदनशील र संवेदनशील मतदानस्थल मात्रै छन् । सामान्य श्रेणीका मतदानस्थल छैनन् । त्यहाँ ४४ वटा मतदानस्थल र १ सय २४ वटा मतदान केन्द्र कायम गरिएको छ । जहाँ अतिसंवेदनशील २५ र संवेदनशील १९ वटा मतनास्थल छन् ।
अतिसंवेदनशील र संवेदनशील मात्रै रहेको तथा सामान्य मतदानस्थल नरहेका कारण मोरङ–५ लाई निर्वाचन सुरक्षाको दृष्टिकोणले अन्य क्षेत्रभन्दा बढी संवेदनशील भनिएको हो । विशेष गरेर भारतसँगको खुला सीमाकै कारण यो क्षेत्रलाई अति जोखिमपूर्ण मानेर त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

भारतसँगको खुला सीमाका कारण निर्वाचनविरोधी गतिविधि हुनसक्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै अपराधमा संलग्न वा निर्वाचनलाई अवरोध पुर्याउनेहरु भागेर तत्काल भारत पुग्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्र विशेष सुरक्षा निगरानीमा परेको छ ।
मोरङ–५ मा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट मात्रै दुई जना डीएसपीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाली सेनाको उपस्थिति पनि व्यापक छ । नेपाल प्रहरीको नेतृत्व डीएसपी कोपिला चुँडाल र पुरुषोत्तमप्रसाद पाण्डेले गरिरहेका छन् । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी एवं तेस्रोमा नेपाली सेना रहने छ ।
मोरङ–५ मा १ लाख १० हजार १ सय ७७ जना मतदाता छन् । तीमध्ये ५० हजार ६ सय २२ जना पुरुष र ४० हजार ५ सय ५५ जना महिला छन् । मोरङ–५ मा धनपालथान र जहदा गाउँपालिका, रंगेली नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडा तथा विराटनगर महानगरपालिकाको १३, १४, १५, १६, १७ र १८ नम्बर वडालाई समेटिएको छ । यहाँ विभिन्न राजनीतिक दलका १४ र ७ स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावमी मैदानमा छन् ।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ४७ वटा अतिसंवेदनशील, १ सय २५ वटा संवेदनशील र १ सय ३४ वटालाई सामान्य श्रेणीमा विभाजन गरेर सुरक्षाको प्रबन्ध गरिएको जानकारी एसपी कटवालले दिए ।

निर्वाचन क्षेत्रमध्ये मोरङ–१ मा ६०, २ मा ६८, ३ मा ५५, ४ मा ४०, ५ मा ४४ र ६ मा ३९ वटा मतदानस्थल छन् । मोरङ–१ मा १ सय ५१, २ मा १ सय ५४, ३ मा १ सय ७९, ४ मा १ सय ३१, ५ मा १ सय २४ र ६ मा १ सय ४९ वटा मतदान केन्द्र तोकिएका छन् ।
कायम भएका मतदानस्थलमध्ये मोरङ क्षेत्र नम्बर १ मा १० वटा, २ मा ११, ५ मा २५ र ६ मा १ वटा अतिसंवेदनशील छन् । निर्वाचन सुरक्षाको दृष्टिले क्षेत्र नम्बर ३ र ४ अलि कम जोखिम मानिएका निर्वाचन क्षेत्र हुन् । त्यहाँ अतिसंवेदनशील मतदानस्थल छैनन् ।
क्षेत्र नम्बर १ मा ४६, २ मा ११, ३ मा २८, ४ मा १७, ५ मा १९ र ६ मा ४ वटा मतदानस्थललाई संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ । त्यस्तै, मोरङ–१ मा ४, २ मा ४६, ३ मा २७, ४ मा २३ र ६ मा ३४ वटा मतदानस्थललाई सामान्य भनेर वर्गीकरण गरिएको छ । क्षेत्र नम्बर ५ मा भने सामान्य श्रेणीका मतदानस्थल नै छैनन् ।
निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिने बताउँदै मोरङ प्रहरी प्रमुख एसपी कटवालले आवश्यकता परेमा मतपेटिका सुरक्षाका लागि गोलीसमेत चलाइने चेतावनी दिए । उनका अनुसार निर्वाचन बिथोल्न खोज्ने केही व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको छ ।
मतदानस्थलमा खटिएका सुरक्षाकर्मीलाई परिस्थिति हेरेर अधिकतम बल प्रयोग गर्ने आदेश दिइएको र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको कटवाल बताउँछन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले निर्वाचन बिथोल्ने वा मतदान प्रक्रियामा अवरोध गर्ने जोसुकै विरुद्ध सुरक्षा ‘प्रोटोकल’ अनुसार कारबाही गरिने स्पष्ट पारेका छन् । ‘अवाञ्छित गतिविधि भएमा ‘ब्यालेट’ जोगाउन ‘बुलेट’ प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनी भन्छन् ।

मोरङ प्रशासनले सुरक्षाको सुनिश्चितता गरिएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेको छ । ‘सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर भए पनि मतदाता र मतपेटिकाको सुरक्षा गर्छन् । निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बनाइएको छ,’ प्रजिअ कटेलले भने ।
मोरङमा ७ लाख ८३ हजार ५० जना मतदातामध्ये महिला ३ लाख ८३ हजार ३ सय ५७, पुरुष ३ लाख ९९ हजार ६ सय ८६ र अन्य ७ छन् । मोरङ–१ मा १ लाख २८ हजार ५ सय ४५, २ मा १ लाख २९ हजार १ सय ८४, ३ मा १ लाख ५८ हजार ५७, ४ मा १ लाख १९ हजार २ सय ५५, ५ मा १ लाख १० हजार १ सय ७७ र ६ मा १ लाख ३७ हजार ८ सय ३२ जनाले मतदान गर्न पाउने छन् ।
मोरङका ६ वटा निर्वाचन क्षेत्रमा १ सय १० जना उम्मेदवार चुनावी मैदानमा छन् । मतदान बिहीबार हुनेछ ।

























