
काठमाडौं । कोशी प्रदेशको दुर्गम क्षेत्रबाट मतपेटिका ओसार्नका लागि हेलिकप्टर प्रयोग गरिने भएको छ । प्रतिनिधिसभाको निर्वाचनपछि मतपेटिकालाई मतगणनास्थलसम्म ल्याउनका लागि अति विकट क्षेत्रमा हेलिकप्टर प्रयोग गरिने भएको हो ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अनुसार ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बको केही स्थानको मतपेटिका ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिनेछ । उनका अनुसार हेलिकप्टर प्रयोग निर्वाचन आयोगको केन्द्रीय कार्यालय मार्फत हुनेछ ।
प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ । मतदाताले आफ्नो नाम रहेको मतदान स्थलमा पुगेर बेलुका ५ बजेसम्म मतदान गर्न पाउँछन् ।
मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, नागरिकता, लाइसेन्स, राहदानी, जग्गा धनीपूर्जासहित सरकारले जारी गरेका ६ प्रकारका कागजात प्रयोग गरेर मतदान सकिने निर्वाचन आयोगले जनाएको छ ।

























