
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मोरङ जिल्लामा दिउँसो ३ बजेसम्म ४४.८२ प्रतिशत मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार जिल्लाभरका सबै ६ वटा निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया उत्साहजनक रूपमा अघि बढिरहेको छ।
दिउँसो ३ बजेसम्मको विवरण अनुसार मोरङ क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ५०.९९ प्रतिशत मत खसेको छ। अन्य क्षेत्रहरूको अवस्था हेर्दा क्षेत्र नम्बर १ मा ४८.८५ प्रतिशत, क्षेत्र नम्बर २ मा ४४.६० प्रतिशत, क्षेत्र नम्बर ३ मा ४२.८२ प्रतिशत, क्षेत्र नम्बर ४ मा ४२.२२ प्रतिशत र क्षेत्र नम्बर ६ मा ४१.७४ प्रतिशत मतदान भएको छ।
जिल्लाभरका कुल ८८८ मतदान केन्द्रहरूमा हालसम्म ३ लाख ५० हजार ९३६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। जसमा १ लाख ७१ हजार ८८८ पुरुष र १ लाख ७९ हजार ४८ महिला मतदाता रहेका छन्। बिहानको तुलनामा दिउँसो मतदाताको उपस्थिति निकै बाक्लो देखिएको छ।
यसअघि बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ बजेसम्म २९.५५ प्रतिशत मात्र मत खसेको थियो। पछिल्लो दुई घण्टामा मतदानको दरमा उल्लेख्य वृद्धि भएको देखिन्छ। निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदानको समय तोकेकाले जिल्लाभर खस्ने कुल मतको प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।
प्रतिनिधि सभाका २७५ सिटका लागि देशभर भइरहेको यस निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रलाई निकै महत्त्वका साथ हेरिएको छ। जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ।

























