
विराटनगर । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा बिहीबार ६४.५६ प्रतिशत मतदान भएको छ । मोरङमा ५ लाख ५ हजार ५ सय १४ मत खसेको छ ।
मोरङका ७ लाख ८३ हजार ५० मतदातामध्ये २ लाख ४३ हजार ३ सय १६ पुरुष, २ लाख ६२ हजार १ सय ९६ महिला र अन्य २ जनाले मताधिकारको प्रयोग गरेका छन् । २ लाख ७७ हजार ५ सय ३६ जना मतदाता मतदान प्रक्रियामा सहभागी भएनन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा ७७ हजार ५ सय ८५ मत खसेको छ । यो ६० दशमलव ३६ प्रतिशत हो । मोरङ–२ मा ८१ हजार ३ सय ४५ (६२.९७ प्रतिशत), ३ मा ९६ हजार ६ सय ७७ (६१.१७ प्रतिशत), ४ मा ८० हजार ८४ (६७.१५ प्रतिशत), ५ मा ७५ हजार ५ सय २९ (७१.२८ प्रतिशत) र मोरङ–६ मा ९१ हजार २ सय ९२ (६६.२३ प्रतिशत) मत खसेको छ ।
मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ मतदान केन्द्र कायम गरिएको थियो । २ वटा अस्थायी मतदानस्थल तोकिएको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कुनै पनि अवरोध बिना शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए । उनले मतदान सफल बनाउन सहयोग गर्ने कर्मचारी, सुरक्षाकर्मी र आम नागरिकलाई विशेष धन्यवाद दिएका छन् ।
मोरङमा मतगणनाका लागि छुट्टाछुट्टै मतगणनास्थल तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय सहमतिपछि गणना सुरु गरिनेछ ।
जिल्लाका ६ वटा क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणनास्थल तोकिएको छ । मोरङ–१ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को विश्वनाथ मन्दिर सिजुवा, ३ को भगवती माध्यमिक विद्यालय बेलबारी, ४ को जनता नमुना माध्यमिक विद्यालय विराटनगर, ५ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय विराटनगर र मोरङ–६ को आदर्श माध्यमिक विद्यालय विराटनगरमा मतगणना हुने छ ।
प्रजिअ कटेलका अनुसार मतगणना कार्यलाई पारदर्शी र सुरक्षित बनाउन तारजाली लगाएर निर्माण गरिएको गणनास्थल सीसी क्यामेराको निगरानीमा छ । मतगणनाका अघि सर्वदलीय सहमति जुटाइने उनले बताए ।


























