
भोजपुर। भोजपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचनको मतगणना आज दिउँसो १२ बजेपछि सुरु गर्ने तयारी गरिएको छ। मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालका अनुसार अहिले उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक बसिरहेको छ।
बिहान ११ बजेदेखि सुरु भएको सो छलफलमा मतगणनाको समय र प्रक्रियाका बारेमा अन्तिम निर्णय लिइनेछ। मुख्य निर्वाचन अधिकृत दाहालले छलफल सकिएलगत्तै मतगणनाको टुङ्गो लाग्ने र आधिकारिक सूचना जारी गरिने बताए। अहिले गणनाका लागि आवश्यक प्रतिनिधिहरूको नियुक्ति लगायतका प्राविधिक तयारीहरू अन्तिम चरणमा पुगेका छन्।
जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा सङ्कलन भइसकेका छन्। मतगणना स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। भोजपुरको प्रारम्भिक नतिजा दिउँसो अबेरसम्म आउने अपेक्षा गरिएको छ।

























